गृहपृष्ठ कमजोर जलविद्युत कम्पनीको आईपीओमा प्रतिबन्ध लगाउन माग
कमजोर जलविद्युत कम्पनीको आईपीओमा प्रतिबन्ध लगाउन माग
जलविद्युत कम्पनीको नियामक निकाय गठनका लागि तत्काल पहल गर्ने ऊर्जामन्त्री पुनको प्रतिबद्धता
सेयर लगानीकर्ताले कमजोर रेटिङ भएका जलविद्युत कम्पनीलाई साधारण सेयर (आर्इपीओ) निष्कासनमा प्रतिबन्ध लगाउन सरकारसँग आग्रह गरेका छन् । विभिन्न लगानीकर्ता संघका प्रतिनिधिले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर क्रेडिट रेटिङ ५ भएका जलविद्युत कम्पनीलाई आर्इपीओमा रोक लगाउन आग्रहसहित नौ बुँदे मागपत्र बुझाएका हुन् ।
कमजोर क्रेडिट रेटिङ भएका कम्पनीलार्इ सेयर जारी गर्न दिइँदा लगानीकर्ता डुब्न सक्ने भएकाले सरकारलार्इ सचेत गराउनुपरेको हाथवे इन्भेस्टमेन्टका प्रबन्ध निर्देशक एवं नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । ‘जलविद्युत कम्पनीमा दूरदराजका सर्वसाधारण लगानीकर्ताले पैसा हालेका हुन्छन्,’ उनले भने, ‘सरकार ती लगानीकर्ताको पैसा डुब्न सक्नेतर्फ सरकार सचेत रहेको देखिएन ।’ जलविद्युत कम्पनीको नियामक निकाय नहुँदा समस्या बढेकाले तत्काल नियामकको व्यवस्था गर्न ऊर्जामन्त्रीसमक्ष आग्रह गरिएको उनले जानकारी दिए ।
अध्यक्ष पौडेलले जलविद्युत कम्पनीले लगानी उठाउने सुनिश्चित भएपछि मात्र अर्को कम्पनी स्थापना गर्न दिन सरकारलार्इ आग्रह गरिएको बताए । हाल सेयर बजारमा १९ वटा जलविद्युत कम्पनी सूचीकृत छन् भने १८ वटा कम्पनी आर्इपीओको तयारीमा छन् ।
लगानीकर्ताले जलविद्युत कम्पनी र सेयरमा भएका बेथिति हटाइदिन मन्त्री पुनसँग आग्रह गरेका छन् । उनीहरुले इक्विटीको ३० प्रतिशतभन्दा बढी सेयर निष्कासन गर्न नपाउने र कम्पनीको लोन फ्री नभएसम्म अर्को कम्पनी सञ्चालन गर्न नपाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
त्यसैगरी, बैंकसँगको कन्सोर्टियम लोन र नेपाल विद्युत प्राधिकरणले पीपीएमा प्रस्तुत गरेको आर्थिक तथ्यांकभन्दा बढी नहुने गरी सर्वसाधारणलाई सेयर निष्कासन गर्नुपर्नेलगायत माग लगानीकर्ता संघहरूको छ । हाइड्रोपावर कम्पनी ३० वर्षपछि सरकारी हुने व्यवस्था हुँदा त्यसपछि हाइड्रोपावरमा सर्वसाधारणको लगानी सम्बन्धमा नीतिगत व्यवस्था गर्न पनि उनीहरूको आग्रह छ ।
ऊर्जामन्त्रीलार्इ भेट गर्न नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र लगानीकर्ता हित मञ्चका प्रतिनिधि पुगेका थिए । जवाफमा मन्त्री पुनले जलविद्युत कम्पनीको नियामक निकाय गठनका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित समय १८:०५ बजे

















