गृहपृष्ठ बिके श्रेष्ठको परिवारद्वारा झन्डै २ अर्बको एभरेष्ट बैंकको सेयर बिक्री
बिके श्रेष्ठको परिवारद्वारा झन्डै २ अर्बको एभरेष्ट बैंकको सेयर बिक्री
संस्थापक बिके श्रेष्ठको परिवारले बिहीबार करिब २ अर्बको एभरेष्ट बैंकको सेयर बेचेको छ । बैंकले हालै प्रकाशित गरेको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनअनुसार नियमभन्दा धेरै सेयर स्वामित्व देखिएसँगै नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएपछि श्रेष्ठको परिवारले सेयर बेचेको हो ।
श्रेष्ठकै परिवारभित्रका राधा श्रेष्ठ र नेपालकृष्ण श्रेष्ठले प्रतिमा श्रेष्ठलाई सेयर बिक्री गरेका हुन् । श्रेष्ठको परिवारले एभरेष्ट बैंकको ७२ लाख ३६ हजार ३७५ कित्ता सेयर प्रतिकित्ता २६५ रुपैयाँले बेचेको छ, जसको कुल मूल्य १ अर्ब ९१ करोड ७६ लाख ३९ हजार ३७५ रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।
बैंकको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनअनुसार राधाको नाममा ५२ लाख ७७ हजार कित्ता र नेपालकृष्णको नाममा ६३ लाख ४५ हजार कित्ता सेयर स्वामित्व थियो । त्यस्तै, प्रतिमा श्रेष्ठको नाममा ४७ लाख ३२ हजार र अध्यक्ष बिके श्रेष्ठको नाममा ७३ लाख ७२ हजार कित्ता सेयर स्वामित्व थियो ।
बिहीबारको सेयर कारोबारपछि एभरेष्ट बैंकमा प्रतिमाको सेयर स्वामित्व १४.८३ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले एकाघरभित्र १५ प्रतिशत सेयर रहेको भन्दै लाभांश वितरणमा रोक लगाएको थियो । अध्यक्ष श्रेष्ठले नजिकको नाता पर्नेलाई सेयर स्थानान्तरण गरेको बताइएको छ । बिहीबारको कारोबारबाट बिकेको परिवारले ९ करोड रुपैयाँ भन्दा धेरैको कर तिर्नुपर्नेछ ।
प्रकाशित समय १५:०२ बजे

















