गृहपृष्ठ कटेजमा ताल्चा, बैंकमा ऋण, तनावमा पर्यटन व्यवसायी

कटेजमा ताल्चा, बैंकमा ऋण, तनावमा पर्यटन व्यवसायी

shreeantu_tourism

कनकाई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा छन् । इलामको सूर्योदय नगरपालिकास्थित श्री अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नुपरेपछि उनी तनावमा परेका हुन् ।

दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोलेका थिए । अहिले चैत ११ गतेदेखि कटेज बन्द छ । कटेज बन्द भए पनि कटेजको लिज भाडा, बैंकको ऋण र साहुको पुरानो रकमले यतिबेला आचार्यको मन पोल्छ ।

‘दुई वर्षअघि मात्र लिजमा लिएको, कमाइ पनि राम्रै थियो,’ उनी भन्छन्, ‘अब अहिले त के गर्ने न कसो गर्ने भइयो । लकडाउनको समयमा पनि भाडा त लागेको छ । कसरी तिर्ने ?’ १५ लाख लगानी गरेर आचार्यसहित दुई जनाले कटेल सञ्चालन गरेका थिए । ‘लकडाउनले गर्दा कटेज त खोल्नै पाएको छैन । साहुले केही महिनाको भाडा छुट दिए भनेचाहिँ चलाउन सकिन्छ,’ आचार्य भन्छन् ।

बीस जना क्षमता भएको कटेज चलाएका आचार्यले यो सिजनमा विगतका वर्षमा मासिक खर्च कटाएर ९० हजार रुपैयाँसम्म बचाउँथे । अहिले कटेज नै बन्द भएपछि दैनिकी चलाउनसमेत सकस पर्दै गएको छ । भ्रमण वर्षको समयमा उल्लेख्य फाइदा लिने सोच बनाउँदै गर्दा कोरोनाभाइरसबाट हुने कोभिड १९ समस्याले आजित बनाएको आचार्य बताउँछन् ।

दैनिक ४०० हाराहारीमा पर्यटक भित्रिने श्री अन्तुमा पर्यटन व्यवसाय नै ठप्प हुँदा नसोचेको घाटा व्यहोर्नुपरेको घरवास (होमस्टे) सञ्चालक धनबहादुर आलेको दुखेसो छ । आलेका अनुसार सिजनकै समयमा बन्द गर्नुपर्दा व्यवसायीले ऋणको चर्को ब्याजदर सामना गर्नुपर्दै छ भने पर्यटकीय क्षेत्र पहिलेकै स्तरमा पुर्‍याउनसमेत समस्या पर्ने भएको छ । मुलुककै प्रमुख पर्यटकीय क्षेत्र श्रीअन्तु सुनसान बनेपछि व्यवसायीले खुलाउन पहल गर्दै आएका छन् ।

महामारीमा होमस्टे र कटेज खोल्दा पर्यटक आए पनि जोखिम बढाउने भएकाले व्यवसायी अन्योलमा परेका हुन् । कटेज खोल्दा महामारी फैलिएमा आफैँले जिम्मा लिनुपर्ने भएकाले पनि खोल्न नसकिएको अन्तु पर्यटन व्यवसायी संघका सचिव रुद्र घिमिरेले बताए ।

पर्यटकीय चहलपहल शून्य भएपछि यतिबेला अन्तुका घरवासमा रुँगालो मात्र राख्न थालिएको छ । होटलका कर्मचारीसमेत घर पठाएपछि घरवास सुनसान हुने गरेको सचिव घिमिरे बताउँछन् । ‘कोही इलामका त कोही भारतकै पनि कर्मचारी राखिएको थियो तर अहिले सबै घर गइसके,’ घिमिरेले भने, ‘सधैँ बाक्लो चहलपहल भइरहने यो क्षेत्रमा अहिले सुनसान छ ।’

घरवास सञ्चालन गर्न पहल भए पनि महामारी फैलिएमा अझै समस्या आउने भएकाले खोल्न नसकिएको बताए । धेरैजसो पर्यटक गर्मी छल्नका लागि अन्तु आउने गर्थे तर गर्मीकै सिजनमा बन्द भइदिँदा व्यवसायीलाई धेरै नोक्सान भएको घिमिरेको भनाइ छ ।

(किरण पौड्याल/रासस)

प्रकाशित समय ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु