गृहपृष्ठ भाइटीका लगाउँदै विदेशीले भने- नेपालीको व्यवहार झन् राम्रो
भाइटीका लगाउँदै विदेशीले भने- नेपालीको व्यवहार झन् राम्रो
पर्यटन प्रवर्धन गरी नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पश्चिमाञ्चल होटल संघले पोखरामा भाइटीका महोत्सव आयोजना गरेको छ । १२औं भाइटीका महोत्सव २०७५ मा यो वर्ष पर्यटकले उत्साहजनक सहभागिता जनाएका छन् ।
गत वर्ष ११औं भाइटीका महोत्सवमा १३ देशका ३५ पर्यटक सहभागी भए पनि यो वर्ष बढी सहभागी भएको संघका महासचिव गणेशराज पहारीले बताए । नेपालीहरुको दोस्रो ठूलो चाड भाइटीका पर्वका अवसरमा शुक्रबार लेकसाइडको लालुपाते मार्गमा रहेको बटरफ्लाई फाउन्डेसनको परिसरमा आयोजना भएको कार्यक्रममा १४ देशका ६० पर्यटक सहभागि भएको उनले जानकारी दिए ।
महोत्सवमा अमेरिका, अस्ट्रेलिया, जापान, चीन, जर्मनी, बेलायत, फ्रान्स, नेदरल्यान्ड, बेल्जियम, इजरायल, क्यानडा, रुस र स्पेनका पर्यटक सहभागी भएका छन् । उनका अनुसार यो वर्ष केही देशका पर्यटकले दोहोर्याएर भाइटीका महोत्सवमा सहभागिता जनाएका छन् ।
तिहार पर्वबारे पर्यटकलाई जानकारी गराउँदै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइँदै आएको संघका अध्यक्ष विकल तुलाचनले बताए । भाइटीका महोत्सवमा सहभागी भएका विदेशी पर्यटकलाई दिउँसो ३ बजेपछि नेपाली परम्पराअनुसार नेपाली चेलीहरुले टीका लगाइदिएको संयोजक पार्वती पाण्डेले बताइन् ।
महोत्सवमा नेपाली परम्पराअनुसार भाइटिका लगाइएको थियो । पर्यटकलाई सप्तरंगी टीकाको साथमा सयपत्री फूलका माला पहिराइएको थियो । पुरुष पर्यटकलाई नेपाली ढाका टोपी र महिला पर्यटकलाई सल प्रदान गरी भाइटीका मसला प्रदान गरिएको थियो ।
रेन्वो चिल्ड्रेन फाउन्डेसनका बालिकाले पर्यटकलाई टीका लगाइदिएका थिए । त्यसपछि पर्यटकले उनीहरुलाई दक्षिणा दिएका थिए । तिहार पर्वमा खाइने सेलरोटी, अचारसहितका परिकार विदेशीलाई खुवाउदै देउसी भैली कार्यक्रममा छमछम्ती नचाइएको थियो ।

नेपाल पर्यटन बोर्डको प्रवर्धनमा भएको महोत्सवमा रेन्वो चिल्ड्रेन फाउन्डेसनका बालबालिकाले देउसीभैलो कार्यक्रम प्रस्तुतः गरेका थिए । महोत्सवमा तिहारका खानाको समेत व्यवस्था गरिएको थियो ।
यसअघि तीनपटक भाइटीका महोत्सवमा सहभागी भएकी हल्यान्डकी हितताजले भाइटीका महोत्सव आफूलाई निकै रमाइलो लाग्ने भएकोले नेपाल भ्रमण गर्दा सकेसम्म सहभागी हुने बताइन् । ‘भाइटीका महोत्सव मलाई निकै राम्रो लाग्छ, वन्डरफुल, देउसीभैलोमा गरिने नृत्यले हामीलाई थप मनोरञ्जन दिएको छ,’ उनले भनिन्, ‘भाइटीका महोत्सवमा हामीलाई गरिने सत्कारकै कारण म पटक–पटक यस महोत्सवमा सहभागी भएकी हुँ ।’
इजरायलका ग्लनिटले एक महिना नेपाल भ्रमण गर्ने क्रममा भाइटीका महोत्सवमा पहिलोपटक सहभागी हुन पाउँदा निकै हर्ष लागेको बताए । ‘नेपाल प्राकृतिक हिसाबले जति सुन्दर छ, यहाँको कला र संस्कृति पनि उत्तिकै राम्रो रहेछ, नेपालीहरुको व्यवहारप्रति हामी निकै खुसी छौं,’ उनले भने । भाइसहितको चार जनाको टोलीमा नेपाल भ्रमणका क्रममा उनी पोखरा आएका हुन् ।
प्रकाशित समय २०:४७ बजे

















