गृहपृष्ठ पञ्चासेमा केवलकार, प्रभावितलाई सेयर
पञ्चासेमा केवलकार, प्रभावितलाई सेयर
पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केवलकार निर्माण हुने भएको छ ।
पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केवलकार निर्माण हुनलागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि तीनवटा कम्पनीले निर्माणको प्रक्रिया अघि बढाएका छन् । प्रदेश नम्बर ४ कै उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको पञ्चासे क्षेत्रको समग्र विकासका लागि निर्माण हुनलागेको केवलकारमा स्थानीयवासीले तीन अर्ब रुपैयाँ बराबरको सेयर पाउने भएका छन् ।
घाँटीछिनाबाट पञ्चासेसम्मको केवलकारको दूरी करिब ८.५ किलोमिटर हुनेछ । १० अर्ब लागत अनुमान गरिएको केवलकार निर्माणमा प्रभावित क्षेत्र, पर्वतको मोदी गाउँपलिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले शेयर अधिकार पाउनेछन् ।
अहिले पञ्चासेमा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन् । त्यस्तैगरी पर्वततर्फबाट चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारीसाधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता छ ।
पोखराबाट सबैभन्दा नजिक रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धनका लागि केवलकार निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । केवलकार निर्माणका लागि विस्तृत सर्वेक्षणको काम भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । आगामी चार वषभित्र केवलकार निर्माण सकी सञ्चालन गर्ने बताइएको छ ।(रासस)
प्रकाशित समय ०७:२६ बजे

















