गृहपृष्ठ बाग्लुङका होटलमा पर्यटकलाई एक सय रुपैयाँमै कोठा
बाग्लुङका होटलमा पर्यटकलाई एक सय रुपैयाँमै कोठा
अंग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले एक सय रुपैयाँमै होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन् ।
अंग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार सांगीतिक साँझको आयोजना गर्दैछ । सोही कार्यक्रमलाई लक्षित गरी व्यवसायीले सोमबार एक दिनलाई छुटमा कोठा दिने भएका हुन् ।
सदरमुकामका १० होटलले एक सय रुपैयाँमा सय वटा कोठा उपलब्ध गराउने भएका छन् । समितिको अनुरोधमा सहुलियतमा कोठा दिन व्यवसायी तयार भएका हुन् । खाना, नास्तामा भने चल्तीकै दर कायम गरिनेछ ।
नयाँ वर्ष मनाउन बाहिर जाने पर्यटकलाई जिल्लामै राख्ने उद्देश्य रहेको समितिका अध्यक्ष राजु खड्काले बताए । ‘थुप्रै मानिस नयाँ वर्ष मनाउन बाहिर जान्छन्,’ उनले भने, ‘जिल्लामै रमाउने वातावरण सिर्जना गर्न खोजेका हौँ ।’ बाहिरी पर्यटक पनि नयाँ वर्ष मनाउन बागलुङ आउने अवस्थाको सिर्जना गरिने समितिले जनाएको छ ।
बागलुङको पर्यटन प्रवद्र्धनमा कार्यक्रमले टेवा पुग्ने होटल व्यवसायी अर्जुन चोखालले बताए । ‘समिति र व्यवसायी मिलेर एउटा सन्देश दिन खोजेका हौं,’ उनले भने ।
पर्यटक भित्र्याउन नसके होटल व्यवसाय सङ्कटमा पर्ने उनको भनाइ छ । पाहुनाको चाप भएमा अन्य होटल पनि छुटमा कोठा दिन तयार छन् ।
समितिले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्दै आएको छ । सरकारले हालैमात्र कालिका भगवती मन्दिर, ढोरपाटन, भकुण्डे, भैरवस्थान र गाजाको दहलाई पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गरेपछि पर्यटन क्षेत्रमा आशा जागेको छ ।
प्रकाशित समय १०:१३ बजे

















