गृहपृष्ठ बिरामीको चापले नौ बजे खुल्छ आँखा अस्पताल
बिरामीको चापले नौ बजे खुल्छ आँखा अस्पताल
गुर्भाकोट नगरपालिका ४ सहारे सुर्खेतकी धर्मा खत्री बिहान नौ बजे नै सुर्खेत आँखा अस्पतालमा लाईन बसेकी थिईन् । आँखाको उपचारको लागी सुर्खेत आएकी धर्माले साढे नौ बजेसम्म नाम दर्ता गराई आँखा जचाउन लाईनमा समेत बसेकी थिईन् ।
‘गुर्भाकोटबाट हिजै आएकी हुँ,’ उनले भनिन् ‘१० बजे कार्यालय खुलेपछि छिटै पालो आउला भनेर अस्पताल आएको । साढे नौ बजे नै पालो पाईयो । आँखाको उपचार गरेर आजै घर फर्कन्छु ।’
त्यस्तै नेपालगञ्जका ७६ वर्षीय अबतराम गुप्ता छोरालाई भेट्न सुर्खेत आएको बेलामा आँखाको उपचार गर्न आँखा अस्पताल पुगे । अरु अस्पतालहरुमा जताततै फोहोर देखेको र घन्टौं पालो कुरेको अनुभब सुनाउने उनलाई त्यहाँको सेवा भने सहज लाग्यो ।
उनले भने ‘धेरै ठांउमा उपचारका लागि गएको छु । तर यहाँको जस्तो छिटो सेवा अन्त कतै पाईन ।’ अस्पतालको सरसफाईको अबस्था र बिरामीलाई बसाईको व्यवस्थासमेत सुर्खेत आँखा अस्पतालको निकै राम्रो लागेको गुप्ताले बताए ।
खत्री र गुप्ताजस्तै उमेरका बृद्धबृद्धा, बालबालिका र अपाङ्गहरुलाई समेत अस्पतालले प्राथमिकता दिएर सेवा दिएको अस्पतालका व्यवस्थापक घनबहादुर थापाले बताए । 
दिनमा करिब २ सयभन्दा बढी सेवाग्राही सुर्खेत आँखा अस्पतालमा उपचारको लागी आउने गरेका छन् । उनले भने, ‘बिरामीको अत्याधिक चापका कारण हामीले बिहान नौ बजेदेखि कार्यालय खोलेर सेवा दिंदै आएका छौं । बृद्ध, बालबालीका, अपाङ्ग तथा गर्भवतीलाई प्राथमिकतामा राखेर सेवा दिईरहेका छौं ।
सुर्खेत आँखा अस्पताल कर्णाली प्रदेशकै एकमात्र अस्पताल भएको अस्पतालका मेडिकल डाईरेक्टर शक्तिप्रसाद सुबेदीले बताए । उनले भने ‘कर्णाली प्रदेशका १० वटै जिल्लाहरुमा आँखा अस्पताल छैन । न्युन शुल्कमा छिटो छरितो उपचार हुने भएकोले धेरै जिल्लाबाट उपचारको लागी बिरामी आउने गर्दछन् ।’
अस्पतालमा विशेष गरी उपचारका लागि आँखामा मोतिबिन्दु भएका, एलर्जी, आँखा पाक्ने र केही कानको समेत समस्या लिएर आउने गरेको डाईरेक्टर सुवेदीले बताए । चेतनाको कमीका कारण समस्या जटिल भएपछि मात्रै अस्पतालमा बिरामी आउने गरेको उनले बताए ।
सुरुमा विक्रम संवत २०४६ सालमा स्थापित आँखा उपचार केन्द्र२०७१ सालमा सुर्खेत आँखा अस्पतालमा रुपान्तरण भएको थियो । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्लालगायतका सबै जिल्लाका गरी दिनमा दुई सयभन्दा बढी सेवाग्राहीलाई अस्पतालले सेवा दिने गरेको छ ।
मोतिबिन्दु भएका बिरामीलाई हातले गरिने अप्रेशन, मेशिनले गरिने अप्रेशन, आँखामा मासु पलाएकोलगाएतका सबै उपचार गरिने अस्पतालले जानकारी दिएको छ । अस्पतालमा २३ जना जनशक्ति कार्यरत छन् ।
प्रकाशित समय १८:२८ बजे

















