गृहपृष्ठ कर्णाली स्कुल : अब विपन्न र निमुखाको मात्र रहेन
कर्णाली स्कुल : अब विपन्न र निमुखाको मात्र रहेन
टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै कुलाका बीचमा सानो टुक्रे जमिन । त्यही जमिनमाथि थोत्रो विद्यालय अनि झुत्रे विद्यार्थी ।
विसं २०४५ मा स्थापना भई प्रावि तहसम्म मात्र सञ्चालनमा रहेको सो विद्यालयमा विपन्नका छोराछोरी मात्रै विद्यार्थी छन् । नजिकै जोडिएको टोलका बासिन्दाले समेत विद्यालयको नाम सुनेका छैनन् । उनीहरुका छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन् । सरकारी स्कुलप्रति कसैको ध्यान छैन । दिनभर मजदुरी गरेर खाने अभिभावकलाई छोराछोरी पढ्ने स्कुलका बारेमा सोच्ने फुर्सद नै छैन कसैलाई । उनीहरुका छोराछोरी पढ्ने स्कुलका बारेमा सोच्ने अरुलाई चासो छैन ।
यो टीकापुर नगरपालिका–१, ब्लक नं ११ स्थित कर्णाली स्कुलको झण्डै १० वर्षअघिको अवस्था हो । अहिले यो स्कुलको अवस्था फेरिएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षकले निकै मेहनत गरेका छन् । वि.सं. २०६६ मा स्थानीय खडक शाहले विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हाले । स्कुलमा २५० विद्यार्थी थिए ।
विद्यालयसँग आम्दानीको स्रोत थिएन । बैंक खाता शून्य थियो । यस्तो जटिल अवस्थामा अध्यक्ष शाहले विद्यालय सुधारको अभियान थाले । उनले शिक्षकलाई साथमा लिए र वि.सं. २०६७ मा निमावि तहको स्वीकृति ल्याए । स्कुलले सुधारको दिशा समात्यो । विद्यार्थीको चाप बढ्दै गयो । उनले २०६८ मै मावि तहसम्मको स्वीकृति ल्याए । वि.सं. २०६९ मा स्कुलको प्रधानाध्यापकका रुपमा धर्मराज शर्मा आए । उनले अध्यक्ष शाहको अभियानमा अहिलेसम्म साथ दिँदै आएका छन् ।
वि.सं. २०७३ मा विद्यालयमा शिक्षा मन्त्रालयअन्तर्गतको सिभिल इन्जिनियरिङ विषयको पढाइ सुरु भयो । यो विषय कक्षा ९ बाटै पढाइ हुन्छ । पहिलो सत्रका ४१ विद्यार्थी अहिले कक्षा ११ को परीक्षा दिँदैछन् । उनीहरु कक्षा १२ उत्तीर्ण गरेपछि सब–इन्जिनियर हुनेछन् । सिभिल इन्जिनियरिङ अध्ययनरत तिनै विपन्न अभिभावकका छोराछोरी छन् । ‘उनीहरुमध्ये ९० प्रतिशत गरिब छन्,’ प्रधानाध्यापक शर्मा भन्छन्, ‘तीमध्ये ७५ प्रतिशत मुक्तकमैया, सुकुम्बासी र दलितका छोराछोरी छन् ।’
गत वर्षदेखि सिटिइभिटीको १८ महिने बाली विज्ञान विषयको समेत पढाइ सुरु भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शाह यसै विषयको तीन वर्षे कोर्स ल्याउने प्रयासमा रहेको बताउँछन् । उनले विज्ञान विषयको प्लस टुका लागि समेत प्रयास भइरहेको बताए । ‘विज्ञान विषयको प्लस टु सञ्चालन गर्न खर्चिलो छ,’ उनले भने, ‘आर्थिक स्रोत जुटाउनेबित्तिकै त्यो पनि शुरु गर्छैं ।’
विद्यालय व्यवस्थापन समिति स्कुललाई बोर्डिङ स्कुलको ढाँचामा अघि बढाउने तयारीमा छ । अध्यक्ष शाहले कक्षा व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले बाल विकास र कक्षा १ को बीचमा अर्को कक्षा थप्ने योजना रहेको सुनाए । विद्यालयले अंग्रेजी माध्यमबाट प्रावि तहको शैक्षिक अवस्थालाई मजबुत बताएको छ ।
स्कुलमा प्रावि तहको मात्रै दरबन्दी छ । निमाविमा तीन राहत शिक्षक छन् । त्यसभन्दा बाहेकका सबै शिक्षकलाई स्कुलले आफ्नै स्रोतमा राखेको छ । स्कुलले सबै शिक्षकलाई सरकारी मापदण्डअनुसार तलब सुविधा दिन्छ । शिक्षकको तलब सुविधामा मात्रै स्कुलले मासिक सात लाख खर्च गर्छ । त्यो सबै स्कुलले आफैँ व्यवस्थापन गरेको छ ।
स्कुल विद्यार्थीका हकमा समेत धनी भएको छ । हाल करिब एक हजार दुई सयभन्दा बढी विद्यार्थी छन् । तीमध्ये छात्राको संख्या झन् धेरै छ । वि.सं. २०६९ को प्रवेशिका परीक्षामा शून्य प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । प्रधानाध्यापक शर्माले २०७० सालदेखि शैक्षिक गुणस्तरले तीव्रता पाएको बताए । उनका अनुसार पछिल्ला वर्षमा ३.६ देखि ४ जिपिएसम्म अंक ल्याएर विद्यार्थी उत्तीर्ण हुन थालेका छन् । ‘सामुदायिक विद्यालयका हकमा यो अंक निकै धेरै हो,’ उनले भने, ‘अझै यो भन्दा राम्रो गर्ने सोचमा छौं ।’
स्कुलले अतिरिक्त क्रियाकलापमा समेत प्रगति गरेको छ । स्कुलले यस वर्षको उपमेयर कपमा दोस्रो स्थान र स्रोत केन्द्रस्तरीय मावि तहमा पहिलो स्थान हासिल गरेको छ । स्कुलले सामुदायिक विद्यालयस्तरीय प्रतियोगितामा आफ्नो स्थान विजेता वा उपविजेतामा उभ्याउन सफल भइरहेको छ ।
प्रधानाध्यापक शर्मा २०६५ सालमा एक संस्थाले टीकापुर नगरपालिकाका शैक्षिक संस्थाका बारेमा प्रकाशन गरेको स्मारिकामा कर्णाली स्कुलको नाम नभएको अहिले पनि सम्झिन्छन् । उनी एक शैक्षिक कार्यक्रममा सहभागी हुँदा कार्यक्रम सञ्चालकले तपाईंको विद्यालय प्रावि हो कि निमावि हो भनेर सोधेको पनि सम्झिन्छन् । अहिले स्कुलका बारेमा टीकापुरमा मात्रै होइन, जिल्लाभर नै चर्चा छ ।
पर्याप्त भौतिक संरचना छ । केही भौतिक संरचना निर्माणका क्रममा छन् । शैक्षिक र खेलकुद सामग्रीको कमी छैन । सुविधासम्पन्न प्रयोगशाला छ । हरेक कक्षाकोठा र परिसरमा सिसी क्यामेरा जडान छ । प्रधानाध्यापक शर्माले आफ्नो कार्यकक्षबाटै विद्यालयका गतिविधि हेर्न सक्छन् । विद्यालयको सुधारले शिक्षक विद्यार्थी पनि खुसी छन् । तिनै विपन्न परिवारका छोराछोरीसमेत चिटिक्क परेर विद्यालय आउँछन् । विद्यार्थी निकै अनुशासित र शिक्षक जिम्मेवार बनेका छन् ।
‘यो सबै टिमले गरेको मेहनतको परिणाम हो,’ अध्यक्ष शाहले भने, ‘हामी स्कुलको विकासका लागि दिनरात खट्न तयार छौं भन्ने भावना सबैमा छ ।’ विद्यालयको प्रगतिले स्थानीयवासीसमेत निकै खुसी छन् । उनीहरु असल नेतृत्वले खराब कुरालाई समेत असल बनाउन सक्छ भन्ने उदाहरण कर्णाली स्कुल भएको बताउँछन् । (झलनाथ खनाल/रासस)
प्रकाशित समय ०८:३५ बजे

















