गृहपृष्ठ १३औं ईक्यान एजुकेसन फेयरको तयारी पूरा

१३औं ईक्यान एजुकेसन फेयरको तयारी पूरा

ecan-newskarobar

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले १३औं एजुकेसन फेयरको तयारी पूरा भएको जनाएको छ । ईक्यानले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी असार २६ गते गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको एजुकेसन फेयरको तयारी पूरा भएको जनाएको हो ।

मेलामा नेपाली विद्यार्थीलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको सम्भावना र अवसरबारे जानकारी दिइनेछ । त्यस्तै, विदेशी शैक्षिक संस्था, त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा एवं गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको पहुँचका लागि परामर्श सेवा प्रदान गर्ने मेलाको मुख्य उद्देश्य रहेको ईक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिए ।

मेलामा रक्तदान कार्यक्रमका साथै प्राथमिक उपचार र डेन्टल क्याम्पको पनि व्यवस्था गरिने ईक्यानले जनाएको छ । मेलाका अवलोकनकर्तालाई लक्षित गरेर मुख्य रुटमा निःशुल्क बससेवा सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायी, स्वदेशी एवं विदेशी शैक्षिक संस्थाका स्टल रहनेछन् । मेलामा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अस्ट्रेलिया, नर्वेलगायत देशका कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिको सहभागिता रहनेछ । मेला अवलोकनका लागि विभिन्न देशका कूटनीतिज्ञ पनि आउने ईक्यानले जनाएको छ । असार २९ गतेसम्म सञ्चालन हुने मेलाको १ लाखभन्दा बढीले अवलोकन गर्ने ईक्यानको अपेक्षा छ ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु