गृहपृष्ठ सेती प्रादेशिक अस्पतालमै छैन प्रभावकारी डायलासिस सेवा

सेती प्रादेशिक अस्पतालमै छैन प्रभावकारी डायलासिस सेवा

फाइल तस्बिर ।

सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडौँनै जानुपर्ने बाध्यता रहेको छ ।

डायलासिसका लागि अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैय्यामा ज्यान गुमाइरहेका छन् भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन् । अस्पतालको फार्मेसीमा मिर्गौलाको डायलासिसको सामान्य औषधि पनि नपाइदा बिरामीहरू चर्काे मूल्य तिरेन निजी फार्मेसीबाट औषधी खरिद गर्न बाध्य छन् ।

मिर्गौलामा समस्या देखिएपछि डायलासिसका लागि सेती प्रादेशिक अस्पताल पुगेकी कञ्चनपुरको लालझाडीकी ४० वर्षीय आस्मा रानाका आफन्त सरोज रानाका अनुसार सुदूरपश्चिम प्रदेशमा मिर्गौलाको उपचार सहज छैन ।

प्रदेशको एक मात्र अस्पताल सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि सेवा त्यति प्रभावकारी नबन्दा सेवाग्राही हैरानी खेप्न बाध्य छन् । ६ वटा मेसिनबाट मात्रै सेवा प्रदान भइरहँदा बिरामीहरूले पालो कुर्नै पर्ने बाध्यता रहेको छ । झन् त्यसमा अस्पतालको फार्मेसीमा डायलासिसको लागी सामान्य औषधी समेत नपाइदा झनै समस्या भइरहेको बिरामीका आफन्तहरूको गुनासो छ ।

सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ्ग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ । अस्पताल सँग १० वटा मेसिनबाट सेवा प्रदान गर्ने सहमति भएपनी हाल ६ वटा मेसिन मात्रै सञ्चालनमा छन् ।

एक हप्तामा हाल ५३ जनाले डायलासिस सेवा लिइरहेको विरंग हेल्थ केयरका व्यवस्थापक दीपक भट्ट बताउँछन् । सामान्य डायलासिसको सेवा यहाँ प्रदान गरिए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौँ अथवा भारत नै जानुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

उसो त सरकारले मिर्गौला पिडितहरुका लागी राहतका कार्यक्रमहरू ल्याएको छ । सरकारको सिफारिस पत्र बिरामीले पाउँदा पनि उनीहरूले सहजै सेवा पाउन सकिरहेका छैनन् । अस्पतालको फार्मेसीमा औषधी नै नपाइने गरेका कारण बिरामीहरू चर्काे मूल्य तिर्दै निजी मेडिकल धाउनु पर्ने बाध्यता छ । तर, फार्मेसी अधिकृत महेश शाह भने आपूर्तिकर्ताले मूल्य बढी हालेको कारण फार्मेसीमा डायलासिसका लागि औषधि नरहेको भए पनि यसको व्यवस्थापनको काम गरिहरेको दाबी गर्छन् ।

उपचारसँगै खानपानमा ध्यान दिन नसक्दा ज्यान गुमाउनेहरू बढ्दै गइरहेको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै हालसम्म १ सय बढीले ज्यान गुमाइसकेका छन् । अस्त व्यस्त जीवनशैलीका कारण मिर्गौला सम्बन्धि रोगीहरू बढेको चिकित्सकहरूको भनाइ छ । पत्थरी, मधुमेह, उच्च रक्तचाप र जीवनशैलीका कारण नै किट्नी फेल हुने गरेको सेती प्रादेसिक अस्पतालमा कार्यरत डा. शेर बहादुर कमर बताउँछन् ।

बढ्दो पत्थरी, मधुमेह, उच्च रक्तचाप र अस्त व्यस्त जीवन शैलीका कारण नै किट्नी फेल हुने क्रम बढेको विभिन्न अध्ययानहरुले देखाएका छन् । सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक नहुँदा अस्पतालको श्यामै प्राण जान्छ की भन्ने चिन्तामा उनीहरू छन् ।

प्रकाशित समय १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु