गृहपृष्ठ धनगढीका संक्रमित युवा : सतर्क हुँदाहुँदै पनि जोगिन सकिनँ, तपाईंहरु होशियार रहनुस्
धनगढीका संक्रमित युवा : सतर्क हुँदाहुँदै पनि जोगिन सकिनँ, तपाईंहरु होशियार रहनुस्
बुद्ध एयरबाट नेपालगञ्जसम्म, त्यहाँदेखि माइक्रोबस
हालसम्म नेपालमा पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनगढीका एक युवा चौंथो संक्रमित व्यक्ति हुन् । उनी चार वर्षदेखि युएईको दुबईमा रोजगारीमा थिए ।
उनी विराटनगरका एक साथीसहित दुबईबाट दिल्ली हुँदै चैत ६ गते काठमाडौं आइपुगेका थिए । उनी चैत ८ गतेसम्म काठमाडौंमै रहेको पनि खुलेको छ । धनगढीको टिकट नपाएपछि आफू चैत ८ गते दिउँसो बुद्ध एयरको विमानबाट नेपालगञ्ज आएको उनले बताएका छन् । नेपालगञ्जबाट उनी माइक्रोबस चढेर धनगढी आएका थिए ।
बुद्ध एयरले सो उडानमा रहेका यात्रुहरुको खोजी गरिरहेको छ । आफन्तहरुले नेपालगञ्जबाट आएको माइक्रोबसको पनि खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्ष कुमार बस्नेतले बताए ।
सेती प्रादेशिक अस्पतालमा रहेका उनको अवस्था खतरामुक्त रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेयले बताए । उनका अनुसार सेती अस्पताल र सुदूरपश्चिमका विभिन्न जिल्ला अस्पतालमार्फत अहिलेसम्म २७ जनाको नमूना परीक्षण गरिएको छ । तीमध्ये १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनामा संक्रमण देखिएको छ । १३ जनाको अझै रिपोर्ट आउन बाँकी छ ।
संक्रमण पुष्टि हुनुअघि प्रशस्तै भेटघाट
ती युवाले परिवारका सदस्य र अन्य आफन्तसँग पनि प्रशस्तै भेटघाट गरिसकेको प्रहरीले जनाएको छ । कोरोनाको जस्तै लक्षण देखिएपछि उनलाई महेन्द्रनगरमा रहेका एकजना आफन्तले चैत ११ गते धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगेका थिए । ती आफन्त पनि आजै महेन्द्रनगरबाट धनगढीस्थित प्रादेशिक अस्पताल आउने प्रहरीले जनाएको छ ।
डीएसपी बस्नेतका अनुसार उनले ९ र १० गते धेरै जनासँग भेट गरेको देखिन्छ । संक्रमितको पारिवारकै एकजना नेपाल प्रहरीमा छन् । हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत उनीसमेत त्रसित बनेको डीएसपी बस्नेतले बताए ।
संक्रमितका परिवारको स्वाब संकलन हुँदै
संक्रमितका परिवारका सदस्यहरुको स्वाब संकलन भइरहेको छ । परिवारका सबैको सेती प्रादेशिक अस्पतालमा स्वाब संकलन भइरहेको हो । उनको परिवारमा बुवा, आमा, दाजु, भाइजु, भतिजी, श्रीमती र छोरी गरी ७ जना छन् ।
उनीहरुको स्वाब संकलन भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । ‘परिवारका सदस्यको स्वाब संकलन भइरहेको छ । त्यसका लागि एक समिति नै गठन भएको छ,’ उनले भने । उनका अनुसार सो समितिले ती संक्रमित व्यक्तिको आगमन हिस्ट्री पनि तयार पार्नेछ ।
‘चाँडै निको हुन्छु’
हाल सेती अस्पतालको छुट्टै कोठामा राखिएका उनले घर फर्कंदा आफूले सकेसम्म सतर्कता अपनाएको बताए । ‘मास्क र सेनिटाइजरको पनि प्रयोग गरेकै थिएँ । तर ११ गते स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएको हुँ । तर रिपोर्ट पोजेटिभ देखियो,’ उनले भने ।
उनले आफू चाँडै सन्चो हुने विश्वास व्यक्त गरेका छन् । ‘मेरो अवस्था ठिकै छ,’ उनले भने, ‘म सबैलाई सतर्क रहन आग्रह पनि गर्न चाहन्छु ।’
प्रकाशित समय १८:४३ बजे

















