गृहपृष्ठ स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द, पाँच करोड धरौटी जफत

स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द, पाँच करोड धरौटी जफत

सरकारले विवादास्पद मेडिकल सामग्री खरिद सम्झौता रद्द गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पत्रकार सम्मेलन गरी सरकारले मेडिकल सामग्री खरिद सम्झौता रद्द गरेको जानकारी गराएका हुन् ।

सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ओम्नी समूहसँग चीनबाट स्वास्थ्य उपकरण सम्झौता गरेको थियो । ओम्नी समूहले स्वास्थ्य सामग्री खरिदका विषयमा स्पष्ट जानकारी नगराएकाले सम्झौता रद्द गर्नुपरेको महानिर्देशक श्रेष्ठले जानकारी गराए । सरकारले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहित बिहीबार सूचना जारी गर्ने उनले बताए । ‘सो सूचनाअनुसार तीन दिनभित्रमा जोसुकैले पनि स्वास्थ्य सामग्री खरिदका लागि निवेदन दिन सक्नेछन्,’ उनले भने ।

चीनबाट खरिद गरी पहिलो चरणमा ल्याइएका स्वास्थ्य उपकरणमा व्यापक अनियमितता भएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । यस विषयमा जानकारी माग्दा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले समेत जवाफ दिन आवश्यक नरहेको गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उपकरण खरिदमा कुनै अनियमतता नभएको भन्दै स्वास्थ्यमन्त्रीको बचाउ गरेका थिए ।

सरकारले तीन दिनमै बिना प्रतिस्पर्धा दर्ता नै नभएको ओम्नी समूहलाई उपकरण खरिदका लागि सम्झौता गरेको बाहिरिएपछि सरकार सम्झौता रद्द गर्न बाध्य भएको हो ।

पाँच करोड धरौटी जफत

सम्झौता रद्द भएसँगै ओम्नी समूहले धरौटीबापत राखेको ५ करोड रूपैयाँ पनि जफत भएको छ । कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया सुरू गरिएको विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए । हालसम्म ओम्नीले जम्मा १० प्रतिशत सामान मात्र सरकारलाई बुझाएको छ ।

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु