गृहपृष्ठ संक्रमितको परिवारका सदस्यहरुलाई स्वाबको नमूना संकलन नगरी घर पठाइयो

संक्रमितको परिवारका सदस्यहरुलाई स्वाबको नमूना संकलन नगरी घर पठाइयो

धनगढीका कोरोना संक्रमित युवकका परिवारको सदस्यहरुलाई थ्रोट स्वाबको नमूना संकलन नगरी घर पठाइएको छ । उनीहरुलाई धनगढीस्थित रंगशालामा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।

दुबईबाट फर्किएर गत ११ गते सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकका परिवारका अन्य सदस्यको नमूना संकलन नगरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्तासमेत रहेका इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश प्रसाद जोशीले उनीहरुमा पूर्वलक्षण नदेखिएकाले तत्काल नमूना संकलन नगरिएको जानकारी दिए ।

‘नमूना संकलन गर्न कुनै न कुनै लक्षण देखिनुपर्छ । तर उनीहरुमा त्यस्तो कुनै पनि लक्षण देखिएन । त्यसैले घर पठाइएको हो,’ डा. जोशीको भनाइ छ । परिवारका सदस्यहरुमा कोरोनासँग सम्बन्धित कुनै किसिमको लक्षण नदेखिएकाले अहिले होम क्वारेन्टाइन राखिएको उनले बताए ।

परिवारका सदस्यहरु आठै जना र संक्रमण पुष्टि भएका युवकलाई अस्पतालसम्म लैजाने आफन्तलाई पनि सेल्फ-क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीहरुलाई ज्वरो आएमा, रुघा खोकी लागेमा मात्र अस्पताल आउने सर्तमा घर पठाइएको हो ।

परीक्षणका लागि स्वाब संकलन नगरी घर पठाएको भन्दै स्थानीयवासीले भने विरोध जनाएका छन् । संक्रमितकी श्रीमती र छोरीको मात्रै थ्रोट स्वाब संकलन गरेर पठाइदिन आग्रह गरे पनि अस्पतालले नमानेको परिवारका सदस्यहरुले बताएका छन् ।

प्रकाशित समय १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु