गृहपृष्ठ कोरोना संक्रमण आशंका गरिएका तीनै जनालाई आइसोलेसनमा राखियो
कोरोना संक्रमण आशंका गरिएका तीनै जनालाई आइसोलेसनमा राखियो
८१ र ५२ वर्षीय दुई महिला र ५८ वर्षीय पुरुषको र्यापिड टेष्ट पोजेटिभ
सनसिटी अपार्टमेन्ट
काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा र्यापिड डायग्रोस्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना भाइरसको आशंका भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार एकै परिवारका ८१ र ५२ वर्षका दुई महिला र ५८ वर्षको पुरुषमा र्यापिड डायग्रोस्टिक टेष्ट गर्दा कोरोना भाइरसको आशंकामा तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । त्यो टेष्टमा पोजेटिभ आउँदैमा कोरोना भाइरस भएको पुष्टि हुँदैन । परीक्षणपछि मात्र थाहा हुन्छ ।
सो अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल्ड’ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी विश्वराज पोखरेलका अनुसार तीनजनालाई कोरोनाको आशंका देखिएपछि अरू व्यक्तिको सुरक्षाका लागि सो क्षेत्रमा आवागमन बन्द गरिएको छ ।
स्वास्थ मन्त्रालयका अनुसार नेपालमा हालसम्म १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एकजना निको भएर घर गइसकेका छन् ।
प्रकाशित समय २२:२८ बजे

















