गृहपृष्ठ प्रदेश १ मा ३ हजार २ सय ६८ जनाको कोरोना परीक्षण, क्वारेन्टिनमा ८ सय २५ जना
प्रदेश १ मा ३ हजार २ सय ६८ जनाको कोरोना परीक्षण, क्वारेन्टिनमा ८ सय २५ जना
प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले द्रूत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए/नभएको धमाधम परीक्षण गरिरहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको कोरोना सूचना डेस्कका अनुसार आरडीटी विधिबाट २ हजार ६ सय ९ जना र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट ६ सय ५९ जनाको परीक्षण गरेको हो ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टिनहरुमा भने द्रुत विधिबाट परीक्षण गरिरहेको जनाएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टिनमा बस्नेको संख्या सोमबारसम्म ८ सय २५ जना पुगेको जनाएको छ । १० जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टिनमा ४ हजार ३ सय ४३ जना बसिरहेको सूचना डेस्कले जानकारी दिएको छ ।
आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ८ महिला र २७ पुरुषसहित ३५ जना बसिरहेका छन् । आइसोलेसनबाट सोमबार दुई जना पुरुष डिस्चार्ज भएका छन् ।
प्रकाशित समय २१:५४ बजे
















