गृहपृष्ठ सुदूरपश्चिमका पहिलो संक्रमित : १ महिना अस्पताल बसेपछि कोरोनालाई जिते
सुदूरपश्चिमका पहिलो संक्रमित : १ महिना अस्पताल बसेपछि कोरोनालाई जिते
सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् । धनगढी उपमहानगरपालिका- ५ का ३४ वर्षीय युवक निको भएर मंगलबार घर फर्किएका हुन् ।
लगातार पछिल्लो दुई पटकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । दुबइबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो ।
उनी ३० दिनसम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन् । यसअघि उनको तीनपटकको रिपोर्ट पोजेटिभ देखाएको थियो ।

यसअघि सेतीमै उपचाररत लम्कीचुहा नगरपालिकाका २१ वर्षीय संक्रमित युवक पनि निको भएर डिस्चार्ज भएका थिए । अब सेती अस्पतालमा तीन जना संक्रमितको उपचार भरहेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लाे तथ्यांकअनुसार हालसम्म नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार एकैदिन ११ जनामा संक्रमण पुष्टि भएकाे हाे । उनीहरू सबै उदयपुर जिल्लाका हुन् ।

प्रकाशित समय २०:४७ बजे

















