गृहपृष्ठ लकडाउनका बेला बालबालिकालाई घरमै शिक्षा
लकडाउनका बेला बालबालिकालाई घरमै शिक्षा
परिवर्तनसँगै आजको शिक्षा एउटा कक्षाकोठामा सीमित भएको छ । मानव समुदायको सिकाइका क्षेत्रलाई फर्केर हेर्दा बालबालिकाका लागि सिकाइ एउटा घर नै रुखको जरा रहेछ भन्ने हामी बुभ्न सक्छौँ । जसमा उसको व्यवहार, आचरण, बोल्ने शैली, आदर, सत्कार र हाम्रा वरिपरि भएका विभिन्न प्राकृतिक वस्तुसँग परिचित हुँदै प्रकृतिलाई चिन्ने र त्यसको व्याख्या गर्ने तथा लेख्न सक्ने सीपको विकास गर्न घरमा नै गर्न सकिने र बालबालिकालाई हरेक वस्तुको चिनारी गराउने काम गर्न सके उसमा विभिन्न पक्षको विकास हुन मद्दत पुग्छ ।
हाम्रो इतिहासलाई फर्केर हेर्दा नेपालमा शिक्षाको सुरुवात अनौपचारिक सिकाइ भएको थियो । जसमा समाजका जान्ने बुभ्नेहरुको समूह बनाई शिक्षा दिइथ्यो । जीवन जिउने शैली र व्यावहारिक पद्दतिलाई अंगाल्दै विभिन्न मठमन्दिर गुम्बा, मस्जिद र चौतारीहरुबाट सिकाइको विकास हुँदै गयो । आज शिक्षा क्षेत्रमा आधुनिक प्रविधि, खोज र अनुसन्धानसँगै ज्ञानलाई विस्तृत र व्यापक गराउने प्रयास भइरहेको छ । बालबालिकालाई शिक्षण प्रक्रिया व्यावहारिक र प्रयोगात्मक बनाउने तथा समाज उपयोगी बनाउनेमा शिक्षालयहरू केन्द्रित हुनुपर्नेछ । आज शिक्षा कक्षा चढ्नका लागि नभएर बालबालिकाको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचानका लागि, समाज परिवर्तनसँगै जीविकोपार्जनका लागि, सीपको विकास र देश निर्माणका लागि, व्यक्तिको सरल जीवन र कार्यक्षेत्रमा दिगो विकासका लागि र एउटा कुशल नागरिक निर्माणका लागि चाहिएको छ ।
त्यसैले अभिभावकहरुले बालबालिकालाई निश्चित समय र उचित उमेरमा घरमा आधारित विभिन्न क्रियाकलापमा सरिक गराउन जरुरी छ । समय सान्दर्भिक रुचिलाई बुझेर बालबालिकालाई सरल तरिकाबाट ज्ञान बाँड्न आवश्यक छ । त्यसो गर्न सके मात्र भोलिका दिन बालबालिकालाई हामीले सोचेअनुरुप पाउन सक्छौँ ।
त्यसकारण आजैबाट हामी परिवारको सदस्य तथा अभिभावकले बालबालिकालाई समय दिई उनीहरुको इच्छा र रुचिअनुसार किताबी ज्ञानलाई भन्दा प्रयोगात्मक र व्यावहारिक शिक्षामा जोड दिनुपर्छ । लकडाउनका कारण हामी अहिले फुर्सदिला छौँ । दिनभर घर बसेर समय बिताउनुपरेको छ । बालबालिकालाई ज्ञान प्रदान गर्नक लागि यो समयलाई सदुपयोग गर्न सकिन्छ । घरमा भएका हरेक वस्तुलाई दिनदिनै एउटा तालिका बनाएर सूची बनाएर लेख्न लगाउन सकिन्छ । उदाहरणका लागि आज हामी भान्साकोठामा भएका सामान जम्मा पारौँ भन्ने र बालबालिकालाई पहिला सोध्ने गर्न सकिन्छ । यो के हो ? कस्तो आकारको छ ? यी वस्तुहरुको नाम सूची बनाएर लेख भनी कार्य गर्न दिनसक्छौँ ।
आज हामी शिक्षक र अभिभावक दुवै हौँ किनकि लकडाउनले हामी सबै चिन्तित र दुःखी छौँ । बालबालिकाको पढाइको चिन्ता सबैलाई छ । अभिभावक सबैले समयको सदुपयोग गरी दोहोरो भूमिका निर्वाह गर्ने बेला भएको छ । विभिन्न तरिका अपनाएर बालबालिकाको सर्वाङ्गीण विकास गर्न घरमै बसेर हामी बालबालिकाको अध्ययन अध्यापनमा सहयोग गरौँ ।
यसरी दिन सकिन्छ व्यावहारिक शिक्षा
० लुकाएको माया बालबालिकाले देख्नु हुँदैन, त्यसैले समय‑समयमा बालबालिकालाई अंगालो हाल्ने, स्यावास भन्ने, आँखामा आँखा जुधाएर बोल्ने, उनीहरुसँगै खेल्ने र सँगै कार्य गर्ने गर्दा बालबालिका नजिक हुनुका साथै विश्वासको वातावरण पनि बन्छ ।
० वरिपरि भएका वस्तु संकलन गरी उमेरअनुसार लेख्न लगाउने ती वस्तु उच्चारण गर्न लगाउने, नआएमा बताइदिने ।
० व्यायाम र प्राणायामका साथै असल आचरण, नैतिकता र स्वस्थ रहने गर्नुपर्ने कामहरू, सहयोगी भावनाका कुरा र समयको महत्व बारेमा ज्ञान दिने ।
० हावामा लेख्न लगाउने, हावामा लेखेका अक्षरलाई लेख्नका लागि विभिन्न चित्रहरु बनाइर रंग भर्न दिने ।
० विभिन्न ढुंगा तथा साना‑ठूला लौराहरु खोज्ने र गन्न दिने साथै त्यसको आकार प्रकार र उपयोगको बारेमा बताउन लगाउने ।
० डोरी वा रिवनलाई सीधा राख्ने र त्यस डोरीमाथि हिँड्न लगाउने साथै डोरीलाई गोलो घेरा बनाएर बालबालिकालाई एउटा खुट्टाले भित्र‑बाहिर भन्दै भित्रभन्दा डोरी भित्र जाने र बाहिरभन्दा बाहिर निस्कने गरी सिकाउने ।
० बालबालिकालाई भान्साकोठामा लैजाने र कुनै चार‑पाँच वटा वस्तुको चित्र दिने र ती बस्तु खोज्न लगाउने ।
० एउटा खुट्टाले हिँड्ने, रंगका गीतहरु गउने, परेवाका गीत लय हालेर हाउभाउ गर्दै गाउने र बालबालिकालाई गाउन सिकाउने ।
० एउटा गिलासमा माटो राख्ने र भटमास, मकै, गहुँ, तोरी वा कुनै बीउ रोप्ने, त्यसलाई कहाँ र किन राखेको हो बताउने, रोपिएको बीउ कति दिनमा कस्तो भयो अवलोकन गर्न लगाउने ।
० विभिन्न फूलहरुको नाम तथा बोटबिरुवाको नाम कपीमा लेखिदिने र बाहिर खोजेर त्यसमा मिलाउन लगाउने, त्यसका रंग र आकार सोध्ने, लेख्न लगाउने र कहाँबाट ल्याएको भनेर सोध्ने ।
० विभिन्न कथा सुनाउने र भन्न लगाउनुहोस् । घरका १० वटा सामान देखाउने र झोलामा राख्ने र भन्न लगाउने ।
० बालबालिकाले दिनभरि गरेका कार्यहरुलाई स्मरण गर्न लगाउने ।
यी बाहेक अरु उपायहरू पनि आफैँले सोच्न र सिकाइमा ल्याउन सकिन्छ । यस्ता क्रियाकलापले बालबालिकाले व्यावहारिक ज्ञान पाउनुका साथै बौद्धिक विकासमा पनि मद्दत पुग्छ । बालबालिकाको विकासमा सहयोग गर्नका लागि यस्ता क्रियाकलाप गराउन सक्यो भने बालबालिका पनि हामीसँगै भुल्ने र विभिन्न व्यावहारिक कार्यका साथै जीवन उपयोगी सीपको विकास गर्न सक्षम हुनेछन् ।
प्रकाशित समय २०:१७ बजे

















