गृहपृष्ठ आईसीयू र भेन्टिलेटर जडान
आईसीयू र भेन्टिलेटर जडान
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ५ बेडको छुट्टै आईसीयू स्थापना गरिएको छ । आईसीयूमा २ वटा भेन्टिलेटरसमेत जडान गरिएको अस्पतालले जनाएको छ ।
भेन्टिलेटर सहितको आईसीयू सञ्चालन भएकाले कोरोना भाइरसका जटिल बिरामी भए उपचारमा अब सहज हुने अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले बताए । डा. जोशीका अनुसार उक्त आईसीयूमा कोरोना संक्रमितको मात्रै उपचार हुन्छ । प्रदेशमा हालसम्म भेन्टिलेटर र आईसीयूमै राख्नुपर्ने बिरामी नभए तयारी गरिएको उनले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएपछि सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालले भेन्टिलेटर खरिदको प्रक्रिया अगाडि बढाएका थिए । अहिले सेती प्रादेशिक अस्पतालमा तीन जना कोरोना संक्रमितको उपचार भइरहेको छ । ३ जना संक्रमित निको भर घर गइसकेका छन् । त्यस्तै ४० जनाभन्दा बढी शंकास्पद बिरामीको पनि उपचार भइरहेको डा. जोशीले जानकारी दिए ।
सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले कोरोना डेडिकेटेड अस्पताल घोषणा गरिसकेको छ । सेती अस्पतालकै मातहतमा सञ्चालन हुनेगरी अहिले धनगढीमा ५० शय्याको आइसोलेसन भवन पनि निर्माण भइरहेको छ । कोरोनाका जटिल बिरामीको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा विगतमा सञ्चालनमा रहेको समेत गरी ६ वटा भेन्टिलेटर र १० बेडको आईसीयू तथा महाकालीमा दुई वटा भेन्टिलेटरसहित चार बेडको आईसीयू रहेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय २०:५६ बजे
















