गृहपृष्ठ कोरोना कहरमा ‘हिमाल पारि’का दुई जिल्ला : स्थानीयवासी नै सचेत र सतर्क
कोरोना कहरमा ‘हिमाल पारि’का दुई जिल्ला : स्थानीयवासी नै सचेत र सतर्क
थोरै जनसंख्या भएकाले व्यवस्थापनमा सहज
मुस्ताङको कागबेनी।
कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण अहिले विश्व नै आक्रान्त छ । यसको रोकथामका लागि सारा स्रोतसाधनसहित विभिन्न देशहरु लागिपरेका छन् । यो महामारीबाट नेपाल पनि अछुतो छैन । महामारी नियन्त्रणका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले एकसाथ प्रयास गरिरहेको छ । यसै क्रममा गण्डकी प्रदेश सरकारले पनि कोरोना रोकथामका लागि विभिन्न पहलकदमीहरु गरिरहेको छ । तर ‘हिमाल पारिका जिल्ला’ भनिने मनाङ र मुस्ताङ भने कोरोनाको प्रभावबाट तुलनात्मक रुपले सुरक्षित छ । यद्यपि दुवै जिल्लाले सतर्कता भने अपनाइरहेका छन् ।
स्थानीयवासी नै सतर्क
१३ हजार ५ सय जनसंख्या रहेको मुस्ताङमा धासाङ, भरतजोङ, बारगोङ मोतिक्षेत्र, दामोदरकुण्ड र लोमान्थाङ गरी पाँचवटा गाउँपालिका रहेका छन् चीनको बुहानबाट कोरोना भाइरस सुरुभएलगत्तै यहाँ पूर्वसावधानी अपनाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्यालले बताए । उनका अनुसार मुस्ताङ प्रवेश गर्ने चारवटै नाकामा पूर्ण रुपले सावधानी अपनाइएको छ । सबै नाकामा हेल्थडेस्क निर्माण स्थापना गरी चेकजाँचलाई कडाई गरिएको उनले जानकारी दिए । उनले भने, ‘धेरै भीडभाड नहोस् भनेर पर्यटकीय स्थल मुक्तिनाथ मन्दिर र गुम्बाहरु बन्द भएका छन् । पाचँ वटै गाउँपालिकामा ९० वटा क्वारेन्टिन स्थापनासँगै १० वटा आइसोलेसन बेड तयार गरेका छौं ।’
मुस्ताङमा सुरुमा ७ जनालाई क्वारेन्टिनमा राखिएको थियो भने अहिले थप ५ जना क्वारेन्टिनमा रहेको प्रजिअ अर्यालले बताए । ‘विभिन्न जनचेतनामुलक कार्यक्रमसँगै माइकिङ गर्नेलगायत कार्य व्यापक भएको छ । पाँचवटै गाउँपालिकाको पहलमा व्यवस्थित तरिकाले राहत वितरण गरिएको छ,’ उनले भने ।
स्वास्थ्यकर्मीहरुको सुरक्षामा पनि विशेष ध्यान दिइएको प्रजिअ अर्यालले बताए । उनल थपे, ‘स्वास्थ्यकर्मीहरु र सबै एम्बुलेन्स चालकलाई पीपीईलगायत अन्य आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छौँ ।’ कोरोना भाइरसको महामारी नफैलियोस् भनेर स्थानीयहरु आफैँ सतर्क रहेको उनले बताए । नचिनेको व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाउने कार्यका साथै विभिन्न स्थानमा चेक पोइन्ट निर्माण गरेर लकडाउनलाई पालना गर्न र गराउन स्थानीयहरु खटिएको प्रजिअ अर्यालको भनाइ छ ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्छ मुस्ताङ । अध्यागमन विभागद्वारा मार्च १५ बाट मुस्ताङमा पर्यटक आगमनमा रोकिएको थियो । लकडाउनका कारण २ सय विदेशी पर्यटक मुस्ताङमा फसेको र उनीहरुको सकुशल उद्धार गरी फिर्ता पठाइएको प्रजिअ अर्यालले बताए । ‘मुस्ताङमा अझै १२ जना विदेशी पर्यटक रहेका छन् । पर्यटकहरु आफ्नै इच्छाले बसेका छन्,’ उनले भने ।

थोरै जनसंख्या भएकाले व्यवस्थापनमा सहज
६ हजार ५ सय ३८ जनसंख्या भएको जिल्ला मनाङले कोरोना नियन्त्रणका लागि विभिन्न कदमहरु चालिरहेको छ । विभिन्न कार्यक्रम गरेर स्थानीयस्तरमा जनचेतना फैलाइएको छ । कोरोना महामारी रोकथामका लागि क्वारेन्टिन र आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी शारदा चालिसेले बताइन् । उनले भनिन्, ‘विदेशबाट आएकाहरु सबैको स्वास्थ्य परीक्षण गराएका छौं ।
गाउँपालिकाहरुमा स्प्रे गर्ने कार्य भइरहेको छ ।’ उनका अनुसार अहिले मनाङमा सवारी साधनहरुको पनि कडाइका साथ चेकजाँच भइरहेको छ । प्रदेश सरकारले मनाङका स्वास्थ्यकर्मीहरुका लागि पीपीईलगायत स्वास्थ्य सामग्रीको उचित प्रबन्ध मिलाएको उनले बताइन् । आइसोलेसन वार्डमा भेन्टिलेटर जडानका लागि गण्डकी प्रदेश सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिइन् ।
मनाङका स्थानीयवासीद्वारा लकडाउनलाई पालना गरी अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कएको सूचना अधिकारी चालिसेले बताइन् । जनसंख्या पनि थोरै भएका कारण व्यवस्थापनमा सहज भएको उनको भनाइ छ ।
मनाङ गुरुङ समुदायको बस्ती भएको जिल्ला हो । मनाङमा अहिले ३ जना मात्र क्वारेन्टिनमा रहेको उनले बताइन् । मनाङले उच्च सर्तकता अपनाउँदै मुख्य नाका धारापानी मार्गमा हेल्थ डेस्क निर्माण गरेको छ । मनाङ जिल्लाले चीनमा कोरोना भाइरस (कोभिड-१९) देखा पर्नासाथ सतर्कता अपनाएको थियो । मनाङका चारवटै गाउँपालिकामा कोरोनासम्बन्धी जनचेतनामुलक कार्यक्रमका गर्ने, बाटोहरुको सरसफाई तथा विषादी छर्कने काम भइरेहको सूचना अधिकारी चालिसे बताउँछिन् ।
देशका अन्य स्थानमा राहत वितरण गर्दा चरम दुरुपयोग भइरहेको चर्चा भइरहे पनि मनाङमा त्यस्तो अवस्था नरहेको उनले बताइन् । उनले भनिन्, ‘सम्बन्धित गाउँपालिकाहरुले नै राहत वितरण गरेका छन् । राहत वितरणको प्रत्येक दिनको अवस्थाबारे विवरण गृहमन्त्रालयमा रिपोर्ट गरेका छौं ।’ लकडाउनको समयमा फसेका व्यक्तिको लागि के गर्नुभएको छ भन्ने प्रश्नमा उनले भनिन्, ‘फसेका व्यक्ति भनेको बाहिरबाट काम गर्न आउने कामदारहरु हुन् । उहाँहरुको लागि खाद्यान्नको व्यवस्था भएको छ ।’ स्वास्थ्यकर्मीहरु नै कोरोनाबाट असुरक्षित रहेको चर्चा चरिहँदा मनाङमा त्यस्तो अवस्था नरहेको सूचना अधिकारी चालिसे बताउँछिन् । ‘स्वास्थ्यकर्मीका लागि बिरामीको चेकजाँचमा चाहिने अत्यावश्यक सामग्री उपलब्ध गराएका छौं,’ उनले भनिन् ।
भौगोलिक विकटताका वावजुद हिमालपारिका जिल्लाहरु मनाङ र मुस्ताङमा स्वास्थ्य सामग्री पर्याप्तता र रोकथामका प्रयासहरु सन्तोषजनक रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउन पालना र सतर्कताका लागि देशका अन्य जिल्लाहरुको तुलनामा आफूहरुको प्रयास कम नरहेकाले संक्रमण भित्रिने र फैलने जोखिम न्यून रहेको उनीहरुको दावी छ ।
प्रकाशित समय १६:१५ बजे

















