गृहपृष्ठ कोरोनाभाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु, १ हजार ९ सय संक्रमित
कोरोनाभाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु, १ हजार ९ सय संक्रमित
विश्वभर फैलिएको कोरोना भाइरसले नेपालमा कसैले ज्यान नलिए पनि विदेशमा भने नेपालीहरुले ज्यान गुमाइरहेका छन् । हालसम्म अर्थात शनिबारसम्म विश्वभर ४९ जना गैरआवासीय नेपालीहरुले ज्यान गुमाइसकेका छन् ।
गैरआवसीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्की १ र नेदरल्याण्डमा १ जनाको ज्यान गएको हो । यस्तै विदेशमा संक्रमण भएका नेपालीमध्ये ४ सय ३४ जना निको भएको समितिले जनाएको छ ।
समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर १ हजार ९ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरुको समूहले तयार पारेको आँकडामा २४ देशमा बसोबास गरिरहेका नेपालीहरुमा कोरोना संक्रमित रहेको उल्लेख छ ।
संक्रमित भएकाहरुमा अमेरिका १ हजार, बेलायत ७ सय, युएई ८१, बहराईन ४९, कुवेत ४२, पोर्चुगल २७, आयरल्याण्ड २२, स्पेन १२ छन् । यसैगरी अस्ट्रेलिया ११, स्वीट्जरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेसिया ३, क्यानडा ३, न्युजील्याण्ड ३, साइप्रस ३ जापान २ हङकङ २, माल्टा २ र फ्रान्समा १ जनालाई संक्रमण भएको छ ।
समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधार मानेर हरेक आइतबार विदेशमा बसेका नेपालीहरुको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आइरहेको छ । साथै कोरोना प्रभावित नेपालीहरुको सहयोगको लागि संघले आफ्ना शाखाहरु परिचालन गरेको छ ।
संघका महासचिव डा. हेम राज शर्माका अनुुसार हालसम्म ४१ देशमा रहेका संघका शाखाहरुमार्फत ९ सय जना स्वयंसेवक परिचालन गरिएको छ । संघले जनाएअनुसार हालसम्म विश्वभर छरिएर रहेका करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत पाएका छन् । ७० जनाभन्दा बढी गैरआवासीय नेपाली चिकित्सकले संक्रमित देशहरुमा रहेका नेपालीहरुलाई सहयोग गरिरहेका छन् ।
नेपालमा भने हालसम्म जम्मा ५२ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित समय १८:४८ बजे

















