गृहपृष्ठ नेपालमा कोरोना : १६ जना उपचारपछि घर फर्के, ३६ को उपचार हुँदै

नेपालमा कोरोना : १६ जना उपचारपछि घर फर्के, ३६ को उपचार हुँदै

कोरोना उपचारपछि सेती अस्पतालबाट डिस्चार्ज हुँदै एक महिला।

हालसम्म कोभिड- १९ संक्रमितको संख्या ५२ पुगेकोमा १६ जना उपचारपछि घर फर्केका छन् । केही दिनयता नयाँ संक्रमित फेला परेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.  विकास देवकोटाले बाँकी ३६ जनाको उपचार भइरहेकोमा सबैको अवस्था सामान्य रहेको जानकारी दिए ।

पीसीआर विधिबाट दश हजार ४७१ र र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) बाट ४३ हजार ६३ गरी कूल ५३ हजार ५३४ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर दुई हजार १८४ जनाको परीक्षण गरिएको छ ।

‘प्रदेश नं १ मा हालसम्म चार हजार ५४५, प्रदेश नं २ मा पाँच हजार २०८, वाग्मतीमा सात हजार ६२६, गण्डकीमा चार हजार ९२६, प्रदेश नं ५ मा तीन हजार ४७१, कर्णालीमा पाँच हजार २२८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९६१ आरडीटीबाट परीक्षण भइसकेको छ’ प्रवक्ता देवकाेटाले भने ।

क्वारेन्टिनमा बस्नेको संख्या २० हजार १९५ र आइसोलेसनका बिरामीे संख्या १०६ छन् । त्यसमा उपत्यकाभित्र आठ र उपत्यका बाहिर ९८ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुईवटा कल सेन्टर (१११५ र ११३३) मा गत २४ घण्टामा दुई हजार ११९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।

मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेभ पेजमा हालसम्म आफ्नो स्व-मूल्यांकनको लागि ‘इन्ट्री’ गर्नेको संख्या २७ हजार ५४२ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ । गत २४ घण्टामा ७४१ जनाले आफ्नो स्व-मूल्यांकन फाराम भरेकोमा आठ जना रेडजोनमा परेका छन् ।

हालसम्म कूल रेडजोनमा हुनेको संख्या ३०४ पुगेको छ । रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेको छ । प्रवक्ता देवकोटाले संक्रमणको प्रकृति हेरेर लकडाउन खोलाउनेबारे के गर्ने भन्ने निर्णय हुने बताए ।

संक्रमितकाे संख्या बढ्दै गएको कारण लकडाउनलाई निरन्तरता दिनुपर्ने देखिएको उनको भनाइ छ । सोही अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले स्वास्थ्यकर्मीको बारेमा जानकारी दिँदै कोरोना लागेको शंका लागेको खण्डमा जुन विधिबाट भए पनि तत्कालै परिक्षण गर्न आग्रह गरे ।

प्रकाशित समय १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु