गृहपृष्ठ हेलिकप्टरबाट स्वाब संकलन
हेलिकप्टरबाट स्वाब संकलन
सुर्खेतबाट स्वास्थ्यकर्मीसहित आएको माउन्टेन एयरको हेलिकप्टरले शंकास्पद व्यक्तिको स्वाब लगेको छ । त्रिपुरासुन्दरी नगरपालिका- ७ मा पर्ने कस्तुरी आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ वर्षीय पुरुषसँग सम्पर्कमा रहेका सबैको स्वाब हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।
दुनै र जुफालबाट पनि केही व्यक्तिको स्वाब सोही हेलिकप्टरमा संकलन गरिएको कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिए । सबैको स्वाब सुर्खेतमा परीक्षण गरेपछि मात्र कोरोना भए/नभएको पुष्टि हुने मन्त्री बुढाको भनाइ छ ।
शुक्रबार १४ दिनसम्म क्वारेन्टाइनमा बसेर घर फर्कने क्रममा स्थानीय स्वास्थ्यकर्मीले द्रूत परीक्षण (आरडीटी) गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार साँझ नै पुनःशंकास्पद व्यक्तिको आरडीटी परीक्षणका लागि जिल्ला अस्पतालबाट डाक्टरको टोली खटाएर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
आरडीटी रिपोर्टबाट स्वास्थ्यकर्मी नै अन्योलमा परेपछि सुर्खेतबाट हेलिकप्टरमा स्वास्थ्यकर्मी झिकाएर पीसीआर परीक्षणका लागि पठाइएको नगरपालिकाले जनाएको छ । शंकास्पद व्यक्ति पछिल्लो समय कोराना संक्रमणको रेड जोनमा परेको नेपालगञ्जमा केही महिना बसेर डोल्पा आएका हुन् । (रासस)
प्रकाशित समय २१:०५ बजे
















