गृहपृष्ठ ‘बत्ती लिएकी केटी’ : हरेक नर्सका लागि प्रेरणाको स्रोत

‘बत्ती लिएकी केटी’ : हरेक नर्सका लागि प्रेरणाको स्रोत

आजभन्दा १ सय ९९ वर्षपहिले सन् १८२० मे १२ का दिन फ्लोरेन्स नाइटिंगेलको जन्म इटालीमा भएको थियो । आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान रहेको नर्स पेसाको सुरुआत गर्ने र नयाँ उचाइ थप्ने महान व्यक्ति फ्लोरेन्स नाइटिंगेलकोे जन्मदिनका अवसरमा विश्वले विभिन्न कार्यक्रम आयोजना गर्दै विश्व नर्स दिवस मनाउने गर्दछ ।

फ्लोरेन्सको जन्म भएको समयमा बेलायतजस्तो समृद्ध देशमा पनि स्टिम इञ्जिन रेलको आविष्कार भएको थिएन । उनी जन्मिएको करिब १० वर्षपछि मात्र बेलायतले आफ्नो पहिलो स्टिम इञ्जिन रेल सञ्चालनमा ल्याएको थियो । त्यतिबेलाको समयमा मानिसहरू स्वास्थ्य सेवा तथा अस्पतालको सरसफाइजस्ता विषयमा त्यति ध्यान दिँदैनथे । यसैगरी स्वास्थ्यकर्मीहरू पनि बिरामीको भावना र आत्मसम्मानलाई ध्यानमा राख्ने विषयमा पनि अनभिज्ञ नै थिए । यही कुरालाई ध्यानमा राखेर नाइटिंगेलले अस्पताललाई सफा राख्ने र बिरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिङ पेसालाई ल्याएकी हुन् ।

फ्लोरेन्सको यिनै योगदानको सम्झनामा हरेक वर्षको मे १२ मा विश्वले नर्स दिवस मनाउने गरेको हो । आज मे १२ अर्थात् ‘सेतो कोट र कपालमा रिबन लगाएकी, औषधिहरू बोकेकी अनि मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारिका’ नर्सको सम्मानमा विश्व नर्स दिवस मनाउने दिन हो । यस वर्ष भने कोरोना महामारीका कारण दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । यद्यपि नर्सिङ सेवाको प्रणेता नाइटिंगेलको सम्झना भने विश्वले गरिरहेको छ । फ्लोरेन्सलाई ‘लेडी विथ ए ल्याम्प’को उपनामले पनि चिनिन्छ । रातिको समय टुकी वा लालटिन बोकेर बिरामीको सेवामा खटिने भएकाले क्रिमिया युद्धमा घाइते भई उपचारमा ल्याइएका सैनिकहरूले उनलाई सम्मानका साथ ‘लेडी विथ ए ल्याम्प’ भनेका हुन् ।

विश्वकै पहिलो नर्स फ्लोरेन्स नाइटिंगेलले बेलायतको लन्डनस्थित थोमस हस्पिटलमा विश्वकै पहिलो निजी नर्सिङ स्कुल पनि स्थापना गरेकी थिइन् । जुन अहिलेसम्म पनि गैरनाफामूलक ढंगमा सञ्चालित छ । विश्वमा फ्लोरेन्सको योगदानका बारेमा चर्चा अहिले पनि उत्तिकै छ । नर्सिङ पेसाको सबैभन्दा ठूलो आदर्श फ्लोरेन्स नाइटिंगेललाई नै मानिन्छ । फ्लोरेन्स नाइटिंगेल हरेक नर्सको ‘प्रेरणाकी स्रोत’ पनि हुन् ।

अर्कोतर्फ फ्लोरेन्सले नर्सिङ सेवाको थालनी गरेपछि नै विश्वमा विस्तारै नारी अधिकार र समानताका आवाज उठेको थियो । तत्कालीन बेलायतको उपनिवेश भारतसम्म पनि फ्लोरेन्सको योगदान र नारी समानताका लहरहरू आइपुगेका थिए । फ्लोरेन्स एउटी समाजसेवी मात्र नभएर लेखिका पनि हुन् । उनीद्वारा मेडिकल उपचार पद्धतिका बारेमा सरल भाषामा सचित्र लेखिएका पुस्तकहरू चर्चित र लोकप्रिय छन् ।

नेपालको नर्सिङ इतिहास

सन् १९४७ मा वीर अस्पताल स्थापना हुँदा त्यहाँ स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही व्यक्तिहरू मात्रै थिए । वीर अस्पतालको इतिहास हेर्दा त्यसबेला ड्रेसिङलगायत अन्य उपचारहरू कम्पाउन्डर वा डाक्टर स्वयंले गर्ने गर्दथे ।

विश्वको तुलनामा नेपालमा धेरै पछि नर्सिङ सुरु भएको देखिन्छ । नर्सिङको नेपाली इतिहास २०१३ सालबाट सुरु भएको हो । त्यसबेला गृहिणीलगायत केही नेपाली युवतीले नर्सिङको औपचारिक तालिम लिएका थिए । राणाकालमा सम्भ्रान्त परिवारमा स्वास्थ्य उपचारमा नर्सिङको महत्त्वबारे थाहा पाएपछि मात्र यसको सुरुआत भएको मानिन्छ । त्यस समयमा चार जना नेपाली चेली विधावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको इलाहवादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ ।

यसै क्रममा क्रमशः नेपाली महिला भारतमा नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाइन्छ । नर्सिङको बढ्दो मोहसँगै नेपालमा शिक्षण अस्पताल यसको पढाई सुरू भएको हो । यसैगरी नर्सिङ कलेजको स्थापनासँगै यसप्रति अध्ययन गर्नेहरूको मोह मात्र बढेन, नयाँ खुलेका निजी अस्पतालहरूसँगै रोजगारीका अवसरहरू पनि सिर्जना भए ।

नेपालमा पहिलोपटक नर्सिङ शिक्षाको सुरुआत वीर अस्पताबाट क्रमशः शिक्षण अस्पताल, पाटन अस्पताल र सीटीईभीटी हुँदै हाल नर्सिङ क्षेत्रमा पढाइ हुने दर्जनाैँ शिक्षण संस्था स्थापना भएका छन् । आंशिक र सम्बन्धनप्राप्त कलेजहरूबाट वर्षेनि हजारौँँका संख्यामा नर्सिङ जनशक्ति उत्पादन हुन थालेका छन् ।

(विभिन्न एजेन्सीको सहयोगमा)

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु