गृहपृष्ठ कोरोना त्रासका कारण अस्पतालमा सेवाग्राही न्यून

कोरोना त्रासका कारण अस्पतालमा सेवाग्राही न्यून

कोरोना विशेष अस्पताल तोकिएको सेती प्रादेशिक अस्पतालमा डेढ महिनापछि ओपीडी सेवा सुरु भएको छ । सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको सो अस्पतालमा ओपीडी (बहिरंग) सेवा लिन आउने विरामीहरुको संख्या भने न्यून छ ।

अस्पतालले गत मंगलबारदेखि बहिरंग लगायतका अन्य सेवा सञ्चालनमा ल्याए पनि त्रासकै कारण विरामीको भीडभाड छैन । विगतमा भने सेती प्रादेशिक अस्पतालमा दैनिक साढे ३ देखि चार सय जनाले उपचार सेवा लिने गरेका थिए । कोरोना विशेष अस्पताल तोकिएपछि भने केही समय अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो । अहिले ओपीडीमा दैनिक सयको हाराहारीमा मात्र सेवाग्राहीहरु आउने गरेको अस्पतालले जनाएको छ ।

ओपीडी सेवा सुचारु भए पनि दीर्घरोगी तथा नियमित चेकजाँच गर्नैपर्ने विरामीलाई भने सहज भएको छ । तर कोरोना विशेष अस्पताल तोकिएपछि विरामीको चाप घट्दो छ । उपचारमा भने पहिलेभन्दा सहज भएको सेवाग्राही प्रकाश बमले बताए ।

भौतिक दुरी कायम गरेर सेवा प्रदान गरे पनि जोखिमकै कारण व्यवस्थापनमा केही जटिलता देखिएको छ । धनगढीमा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको ५० शय्याको कोरोना अस्पताल हस्तान्तरण हुन बाँकी रहेको अस्पतालले जनाएको छ । सो अस्पताल सञ्चालनमा आएपछि सेवा प्रवाहमा थप सहज हुने अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ले बताए ।

विशेषज्ञ उपचार सेवा भएको सेतीमै कोरोना भाइरसका संक्रमित तथा संक्रमण आशंका गरिएका विरामीको उपचार गरिन थालेपछि अन्य विरामीहरु बरु चर्को शुल्क तिरेरै भए पनि अहिले निजी अस्पताल धाउन थालेका छन् ।

प्रकाशित समय २२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु