गृहपृष्ठ कर्णालीको पहिलो संक्रमित भेटिएको नगरमा भारतबाट हजारौँ भित्रिँदै

कर्णालीको पहिलो संक्रमित भेटिएको नगरमा भारतबाट हजारौँ भित्रिँदै

कर्णाली प्रदेशको पहिलो कोरोना संक्रमित नगर आठबिस नगरपालिका दैलेखका करिब २ हजार नागरिक भारतबाट भित्रिँदै छन् । भारतमा कोरोनाको संक्रमण अत्याधिक बढेपछि कामविहीन भएका उनीहरु नेपाल भित्रिन लागेका हुन् ।

भारतले रेलसेवा सुचारु गरेसँगै रोजगारीको सिलसिलामा भारत पसेका उनीहरु नेपाल-भारत सीमाक्षेत्रमा आएर बसेको र उनीहरुलाई नगर भित्राउनको लागि गृहकार्य भइरहेको आठबिस नगरपालिका दैलेखकी उपप्रमुख दिपा बोहोराले जानकारी दिइन् ।

‘उनीहरुलाई कर्णाली भित्रिनुअघि नै बबईमा पीसीआर परीक्षणको व्यवस्था मिलाउनुपर्छ,’ उपप्रमुख बोहोराले भनिन्, ‘तर अहिलेसम्म प्रदेश सरकारले त्यसको तयारी गरेको छैन ।’ भारतबाट आएका नागरिक नगर भित्रिएपछि पनि उनीहरुलाई क्वारेन्टिनमा राखी पीसीआर परीक्षण गरी घर पठाउनेगरी व्यवस्था मिलाउनुपर्ने उनले बताइन् ।

‘हालसम्म कर्णाली प्रदेश ग्रिन जोनको रुपमा चिनिएको थियो । तर हाम्रै स्थानीय तहमा कोरोनाको संक्रमण देखियो । प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा हामीलाई विभेद गरिएको छ,’ उनले भनिन् । कोरोना संक्रमितलाई समेत प्रदेश सरकारले उपचारमा विभेदकारी व्यवहार गरेको उनले गुनासो गरिन् । भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका युवामा कोरोनाको संक्रमण देखिएसँगै नगरपालिकालाई लक गर्ने तयारीसमेत भएको उनले जानकारी दिइन् ।

गत सोमबार वडा नं. १ का युवामा कोरोनाको संक्रमण देखिएसँगै सो वडालाई लक गरिएको र बिस्तारै नगरपालिका नै लक गर्ने तयारीमा रहेको उनले बताइन् । उपप्रमुख बोहोराका अनुसार आठबिस नगरपालिका दैलेखका करिब ६० प्रतिशत नागरिक भारतकै भरमा गुजारा गर्छन् । नगरका युवामा कोरोनाको संक्रमण देखिएपछि गाउँमा त्रास फैलिएको उनले बताइन् ।

प्रकाशित समय १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु