गृहपृष्ठ कोरोनाभाइरसबाट बच्न प्रधानमन्त्रीका पाँच टिप्स
कोरोनाभाइरसबाट बच्न प्रधानमन्त्रीका पाँच टिप्स
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरसबाट लाग्ने कोभिड १९ महामारीबाट बच्न पाँच टिप्स प्रस्तुत गरेका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई आत्मसात गर्दै त्यससँग लड्न र निरोगी नेपाल निर्माणको अभियानमा जुट्न आग्रह गर्दै पाँच टिप्स प्रस्तुत गरेका हुन् ।
विज्ञहरुलाई उद्धृत गर्दै उनले भने, ‘यस भाइरसकाविरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार‑विहारमा आवश्यक सतर्कता अपनाउनु हो ।’
त्यसका लागि हालसम्मका उपायहरु भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता वृद्धि गर्नु रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सोचौं, हुनेखाने हुन् वा हुँदा खानेको, अचारको रुपमा होस् वा तरकारी, हाम्रा भान्छामा प्रयोग हुने केही तत्वहरुमा किन समानता पाइन्छ ? किनकि त्यसमा औषधीय तत्व छ,’ उनले भने, ‘हाम्रा पूर्वजहरूले हजारौं वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पुर्याइरहेका छन् ।’
तसर्थ निरोगी नेपाल निर्माणका लागि पाँच कार्य गर्न आग्रह गर्दछु :
पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।
दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारीरिक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।
तेस्रो, भाइरस फोहोरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाइमा एकदमै ध्यान दिऊँ ।
चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।
पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग‑व्याधीका विरुद्धको लडाइँमा कमजोर तुल्याउँछ ।
कोरोनाभाइरसबाट जीवन गुमाउनेको संख्या प्रतिशतमा हेर्ने हो भने हामीले सामान्य ठानेका मौसमी रुघाखोकीबाट मर्नेको भन्दा कम छ भन्ने त तथ्यांकले नै बताएको प्रधानमन्त्रीले जानकारी गराए । ‘मानव जाति औषधि र अस्पताल नै नभएको बेलामा समेत अनेकन् महामारी सामना गरेर अघि बढेको छ,’ उनले भने, ‘मैले पहिले पनि चर्चा गरेको छु‑ चुनौतीको सामान गर्ने, लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्ने र अघि बढ्ने नेपालीको चरित्र हो । हाम्रो आनीबानी र खानपिन ठीक हुँदा हामी जोगिन्छौं र कोरोनालाई पराजित गर्न सक्छौं ।’
सरकारले यसलाई ‘निरोगी नेपाल निर्माण अभियान’ भनेको र ‘निरोगी नेपाल निर्माण’लाई मूल स्वास्थ्य नीति बनाएको उनले बताए । ‘प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रवर्धन गरी नेपालीको रोगप्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हाल कोरोना महामारीविरुद्ध सबै सामर्थ्य लगाउने र कोरोनामुक्त नेपालको स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गर्न सरकार प्रतिबद्ध छ ।’
प्रकाशित समय १९:३३ बजे

















