गृहपृष्ठ निको नहुँदै ६ जना कोरोना संक्रमित डिस्चार्ज, घर जान प्रहरीको दबाब

निको नहुँदै ६ जना कोरोना संक्रमित डिस्चार्ज, घर जान प्रहरीको दबाब

सेती प्रादेशिक अस्पताल धनगढीले निको नहुँदै शुक्रबार ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार उनिहरुलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गरिएको हो ।

अस्पतालले डिस्चार्ज गरेका ६ जना कोरोना संक्रमित धनगढीमै अलपत्र परेका छन् । दिउँसो २ बजे उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएकोमा सम्बन्धित जिल्लासम्म पुर्‍याउने व्यवस्था नभएपछि उनीहरु धनगढीमा अलपत्र परेका हुन् ।

अस्पतालको आइसोलेसनमा उपचाररत अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका, बैतडीको शिवनाथ गाउँपालिका १ का २० र २७ वर्षीय पुरुष तथा वठा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो । अस्पतालले डिस्चार्ज गरेपछि घर जान प्रहरीले दबाब दिइरहेको संक्रमितहरुले गुनासो गरेका छन् ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनअनुसार उनीहरुलाई डिस्चार्ज गरिएको बताए । ‘उनीहरूलाई सम्बन्धित पालिकासम्म पुर्‍याउने जिम्मेवारी हाम्रो होइन,’ उनले भने ।

 स्वाब राख्ने ठाउँ नभएपछि नमुना संकलन स्थगित

सुदूरपश्चिममा संकलित नमुनाको स्वाब राख्न ठाउँ अभाव भएपछि पाँच दिनका लागि कोरोनाका सम्भावित संक्रमितको नमुना संकलनको काम स्थगित गरेको छ । प्रदेशमा यसअघि संकलित नमुनाकै परीक्षण गर्न बाँकी रहेकाले पाँच दिनका लागि थ्रोट स्वाबको नमुना संकलनको काम स्थगित गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले शुक्रबार सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै पाँच दिनसम्म स्वाबको नमुना संकलन नगर्न निर्देशन दिएको छ । स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले धनगढी प्रयोगशालामार्फत दैनिक २५० जनाको मात्र परीक्षण सम्भव भएको बताए । अवस्थीले प्रदेशमा संकलित एक हजार ८३ जनाको स्वाब परीक्षण गर्न बाँकी रहेको जानकारी दिए ।

 टिकापुरका पाँच जना डिस्चार्ज

कैलालीको टीकापुर अस्पतालबाट पाँच जना कोरोनाभाइरस संक्रमित डिस्चार्ज भएका छन् । कैलालीको जानकी गाउँपालिकाका पाँच जना कोरोनालाई जितेर घर फर्किएका हुन् ।

दुर्गौलीस्थित सरस्वती माविमा रहेको क्वारेन्टिनमा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण देखिएको थियो । दुईपटक पुनः गरिएको स्वाब परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कँडेलले जानकारी दिए ।

प्रकाशित समय १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु