गृहपृष्ठ निको नहुँदै डिस्चार्ज गरिएका कोरोना संक्रमितलाई पुनः अस्पतालमै लगियो
निको नहुँदै डिस्चार्ज गरिएका कोरोना संक्रमितलाई पुनः अस्पतालमै लगियो
सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेका ६ जना कोरोना संक्रमितलाई फेरि अस्पतालमा राखिएको छ । आज दिउँसो डिस्चार्ज गरिएका अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका १ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका २ का २० र २२ वर्षीय पुरुषलाई फेरि अस्पतालमा राखिएको हो ।
सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले सम्बन्धित जिल्लासम्म पुर्याउने व्यवस्था नभएपछि उनीहरुलाई फेरि प्रि‑आइसोलेसनमा राखिएको जानकारी दिए । ‘बिरामीको सम्बन्धित पालिकासँग छलफल गरेका छौँ,’ डाक्टर शर्माले भने, ‘सम्बन्धित पालिकाले गाडीको व्यवस्था नगर्दासम्म उनीहरुलाई प्रि‑आइसोलेसन राखेका छौँ ।’
डिस्चार्ज गरिएका ६ जना नै आज दिउँसोदेखि धनगढीमा अलपत्र परेका थिए । कोरोना निको नभए पनि स्वास्थ्य मन्त्रालयले भर्खरै जारी गरेको निर्देशिकाअनुसार उनीहरुलाई डिस्चार्ज गरिएको थियो ।
यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था थियो । तर, स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि लक्षण नदेखिएका संक्रमितलाई डिस्चार्ज गर्न थालिएको छ ।
यो पनि पढ्नुहोस्
निको नहुँदै ६ जना कोरोना संक्रमित डिस्चार्ज, घर जान प्रहरीको दबाब
प्रकाशित समय १९:४६ बजे

















