गृहपृष्ठ कोरोना रोकथामका लागि करोडौँ खर्चेको प्रदेश २ मा क्वारेन्टिन बसेकाहरू भुईंमै सुत्छन्
कोरोना रोकथामका लागि करोडौँ खर्चेको प्रदेश २ मा क्वारेन्टिन बसेकाहरू भुईंमै सुत्छन्
चीनको वुहान सहरमा ३१ डिसेम्बर २०१९ मा पहिलोपटक फेला परेको कोरोना भाइरस (कोभिड- १९) अहिले विश्वभर महामारीको रुप लिएको छ । नेपालमा पनि यसको संक्रमण दिनानुदिन फैलिरहेको छ । स्वास्थ्य परीक्षण र उपचारको कमजोर पूर्वाधारका कारण नेपालमा कोरोना महामारीको जोखिम झनै उच्च छ । संक्रमण देखिएयता यसको रोकथाम र उपचारका लागि प्रदेश सरकारले करोडौं रुपैयाँ खर्च गरिसकेको छ । तर अपेक्षित काम हुन नसकेको गुनासो मात्र बढिरहेको छैन, भ्रष्टाचारसमेत भइरहेको आरोप लाग्न थालेको छ ।
नेपालमा कोरोना भाइरसको प्रवेशसँगै प्रदेश नं. २ मा पनि संक्रमतिको संख्या दिनानुदिन बढ्दै गएको छ । प्रदेश २ का सबै आठ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा संक्रमितको संख्या ९ सय ८१ पुगेको छ । यसमध्ये १ सय २३ जना संक्रमित कोरोनामुुक्त भएका छन् ।
तीन अस्पतालबाट पीसीआर परीक्षण
प्रदेश २ मा वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, प्रादेशिक अस्पताल जनकपुर र गजेन्द्रनारायण सिंह उपक्षेत्रीय अस्पताल राजविराजमा पीसीआर परीक्षण हुँदै आएको छ । यसबाहेक प्रदेशमा संकलित स्वाबका नमूना काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा समेत पठाइँदै आएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबारसम्म १९ हजार ९ सय ५९ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये ९ सय ८१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । बाँकीको नतिजा आउन बाँकी रहेको छ । यस्तै ९ हजार ३ सय ५६ जनाको आरडीटी परीक्षण गरिएकामो २ सय ९१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ९ हजार ६५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
आइसोलेसन करिब ११ सय र क्वारेन्टिन क्षमता ३० हजार
प्रदेशका विभिन्न स्थानमा १ हजार १ सय ५८ वटा आइसोलेसन वार्ड स्थापना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल ६ सय ३४ लाई आइसोलेसनमा राखिएको मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए । प्रदेशमा २९ हजार ९ सय ६३ जना बेड क्षमताको क्वारेन्टिन निर्माण गरिएका छन् । २१ हजार ५ सय ३५ जनालाई क्वारेन्टिनमा राखिएको छ । त्यसैगरी ४ हजार ६ सय ९ जना होम क्वारेन्टिनमा रहेको सचिव डा. घिमिरेले बताए ।
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको कोरोना विशेष अस्पतालमा ६७, सिरहा कारोना विशेष अस्पतालको आइसोलेसन कक्षमा २२, प्रादेशिक अस्पताल जनकपुरको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा २५, धनुषाकै लक्ष्मीनिया गाउँपालिकाको बीपी कोइराला मेमोरियल पोलिटेक्निकल इस्टिच्युटको आइसोलेसन कक्षमा ६७ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी महोत्तरीको जलेश्वर कोरोना अस्पतालको आइसोलेसन कक्षमा ३७, सर्लाहीको मलंगवामा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनमा ४५, सर्लाहीकै अररबा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा ९, रौतहटको चन्द्रनिगाहपुर अस्पतालमा ३२, गौरमा ३५ र रौतहटकै राजपुरको आइसोलेन कक्षमा २५, देवाही गोनाही नगरपालिकामा ८३, गरुडा नगरपालिकामा ७६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । बाराको कलैया अस्पतालको आइसोलेसन कक्षमा ४५ र पर्साको गण्डक अस्पतालको आइसोलेसन कक्षमा २८ जना कोरोना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म प्रदेशका कुनै पनि बिरामीलाई भेन्टिलेटरमा राखिएको छैन ।
अधिकांश क्वारेन्टिन मापदण्डविपरित
कोभिड- १९ सम्बन्धी प्रदेश २ सरकारले क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको संघ, प्रदेश र स्थानीय मापदण्ड- २०७६ निर्माण गरेको छ । मापदण्डमा प्रत्येक क्वारेन्टाइनमा १ सयभन्दा बढी क्षमताको हुनुपर्ने, सञ्चार, स्वास्थ्य, खानेपानी, बिजुलीको पूर्ण व्यवस्था भएको गरिनुपर्ने र प्रतिव्यक्ति ७५ वर्ग फिटको स्थान वा न्यूनतम दुरी साढे तीन फिट कायम गरी बेडको व्यवस्थापन हुनुपर्ने, नियमित सरसफाई गरिनुपर्ने र पोषिलो खाना दिनुपर्ने उल्लेख छ ।
तर प्रदेशका विभिन्न स्थानीय तहमा बनाइएको क्वारेन्टिनमध्ये अधिकांश मापदण्डअनुसारका छैनन् । गत चैत १४ गतेदेखि सञ्चालन गर्दै आएको धनुषाको सबैला नगरापलिका- १२, वरकुर्वामास्थित फकिरचन्द गामी माविको क्वारेन्टिनमामा कोरोना आशंका गरिएका बिरामीहरुलाई भुईंमै राखिएको छ ।
महोत्तरीको गौशाला नगरपालिकाले खानाको उचित व्यवस्थापन नगरेपछि सोही नगरपालिकास्थित निगौल माविको क्वारेन्टिनमा भारतबाट आएका २५ जना युवा गत जेठ १० गते २४ घण्टाभन्दा बढी भोकै परेका थिए । जिल्ला अस्पताल बाराका एकजना कोरोना संक्रमितले खाना, पानी र औषधिको व्यवस्था नभएको भन्दै जेठ ८ गते गुनासो गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकामै क्वारेन्टिनको उचित व्यवस्थापन हुन नसक्दा जेठ २३ गते राति १ बजे आएका १४ जना युवाहरु जनकपुरधाम- १४ मुजेलियाको माध्यमिक विद्यालयमा रातभर खुला चिसो भुईंमा सुत्नु परेको सामाजिक अभियन्ता सरोज रायले बताए ।
कोरोनाभाइरस नियन्त्रणका लागि संघ, प्रदेश सरकार र स्थानीय सरकारले करोडौं रकम निकासा गरेको भए पनि क्वारेन्टिन र आइसोलेसनमा राखिएकाहरूलाई खाने र बस्ने व्यवस्था राम्रो नभएको १६ दिन आइसोलेसनमा बसेर निको भएका ४० वर्षीय पत्रकार विरेन्द्र रमणको गुनासो सुनाए । तीनै तहका सरकार महामारीको नाम गरेर भ्रष्टाचार लिप्त रहेको उनको आरोप छ ।
पर्याप्त रुपमा व्यवस्थापन हुन नसक्दा एउटै कोठामा कोचिएर सामाजिक दुरी कायम नगरी क्वारेन्टिनमा राख्नु पर्ने, पुरूष र महिलाका लागि छुट्टै शौचालयको व्यवस्था नभएको, तातो पानी, पोषिलो खाना, चप्पल, साबुन र सेनिटाइजरलगायत सरसफाइका सामग्रीहरू नभएको गुनासो बढेको थियो । यसपछि स्थलगत अनुगमन गर्दै धनुषाका ६ वटा मानवअधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाले क्वारेन्टिन व्यवस्थित गर्दै महिलामैत्री बनाउन जेठ २३ गते स्थानीय तह र प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
प्रदेश सरकारको खर्च ७ करोड
कोरोनाभाइरस महामारीको संक्रमण रोकथाम र प्रतिकार्यका लागि प्रदेश नं. २ सरकारले हालसम्म ७ करोड रुपैयाँ खर्च गरेको अर्थ तथा योजना मन्त्रालयले जनाएको छ । यसबाहेक अन्य मन्त्रालयले समेत आफ्नो विकास बजेटबाट विभिन्न शिर्षकमा खर्च गरेका छन् ।

न्युज कारोबारलाई प्राप्त विवरणअनुसार प्रदेशका ८ वटै जिल्लाका विपद व्यवस्थापन समितिलाई ५० लाख, जिल्ला प्रहरी कार्यालय प्रत्येकलाई ११/११ लाख रुपैयाँ बजेट निकासा गरिएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत पर्ने स्वास्थ्य स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेश २ को विभिन्न अस्पताल र स्वास्थ्य कार्यालयका लागि ५ करोडको स्वास्थ्य सामग्रीहरु खरिद गरेको केन्द्रका सूचना अधिकारी श्रवण नायकले जानकारी दिए । प्रदेश २ का १३६ पालिकाले समेत आ-आफनै तरिकाले कोरोनाभाइरस नियन्त्रणका लागि रकम खर्चिएका छन् । पालिकाहरुले न्युनतम ३५ लाखदेखि महानगरपालिकाले करोडौ रकम निकासा गरेको छ ।
प्रदेशमा संक्रमितको संख्या दिनानुदिन बढिरहेकाले मुख्यमन्त्री लालबाबु राउतले विशेष प्याकेजसहितको राहत योजना दिन केन्द्र सरकारसँग आग्रह गरेका छन् । संक्रमण नियन्त्रणका लागि क्वारेन्टिन, आइसोलेसन र बिरामीहरुको रेखदेख, औषधि खरिद, चिकित्सक टोलीको परिचालन लगायतका क्षेत्रमा सुधार गरिरहेको मुख्यमन्त्री राउतले बताए ।
प्रकाशित समय १८:५० बजे

















