गृहपृष्ठ सुदूरपश्चिममा भारतबाट भित्रिएका ६० हजार नेपाली क्वारेन्टिनमा

सुदूरपश्चिममा भारतबाट भित्रिएका ६० हजार नेपाली क्वारेन्टिनमा

सबै स्थानीय तहलाई ५०/५० शय्याको आइसोलेसन बनाउन पत्र

कोरोना कहरपछि भारत तथा तेस्रो मुलुकबाट धमाधम स्वदेश फर्किने क्रम जारी छ । भारतबाट स्वदेश फर्किनेहरुका लागि जेठ पहिलो साताबाट चारवटै नाका खुला गरिएसँगै सुदूरपश्चिममा ६३ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन् । जेठ पहिलो साताबाट स्वदेश फर्किएका ६० हजारभन्दा धेरै क्वारेन्टिनमा छन् भने केहीलाई रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ ।

भारतमा कोरोनाभाइरसको जोखिम भएको र लकडाउनका कारण रोजगारी गुमेको भन्दै स्वदेश फर्किएका ६३ हजार ५२७ जनालाई क्वारेन्टिनमा राखिएको राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । प्रदेशमा ७४ हजार ३२७ क्वारेन्टिन बेड निर्माण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

क्वारेन्टिनमै सात जनाको ज्यान गयो

जेठ १८ गते बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भएको भएको थियो । बाजुराको बूढीगंगा नगरपालिका १ धुरालसैन माविको क्वारेन्टिन बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भएको हो । उनी बाबुआमासँगै भारतबाट आएकी थिइन् ।

त्यसयता साताको अवधिमा सुदूरपश्चिम प्रदेशका विभिन्न क्वारेन्टिनमा रहेका अन्य ६ जनाको ज्यान गइसकेको छ । बाजुराकी बालिकाबाहेक अन्य कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । ज्यान गएकामध्ये तीन जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने अन्य तीन जनाको रिपोर्ट आउन बाँकी छ ।

ज्यान गएकामध्ये तीन जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने अन्य तीन जनाको रिपोर्ट आउन बाँकी छ ।

शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको भने अस्पतालमै मृत्यु भएको हो । त्यसबाहेक बैतडी, डडेल्धुरा र बाजुराको क्वारेन्टिनमा दुई/दुई जना र डोटीको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ ।

प्रदेशमा पहिलो संक्रमितको मृत्यु भएकै जिल्ला बाजुरामा शनिबार थप एक जना वृद्धको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा जेठ १६ गतेदेखि बस्दै आएका ६५ वर्षीय वृद्धको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

डडेल्धुराको क्वारेन्टिनमा पनि दुई जनाको मृत्यु भएको छ । २१ जेठमा पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको थियो । उनी श्रीमानसहित १६ गते भारतबाट आएकी थिइन् । त्यसअघि १७ गते राति डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भएको थियो । आमाबाबुसँगै ती बालक भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए ।

शनिबार साँझ बैतडीको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका ३१ वर्षीय पुरुषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह महराले जानकारी दिए । मृतक पुरुष भारतको बेंगलोरबाट आएर शनिबार बिहान मात्रै क्वारेन्टिनमा बसेका थिए ।

यसअघि २० जेठमा पनि बैतडीको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो । आइतबार बिहान डोटीको केआईसिंह गाउँपालिका ३ बासुदेवीमा सात दिनअघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको छ ।

संक्रमितको संख्या १०९

सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । तीमध्ये १०५ जना प्रदेशभित्रै छन् भने दुई जना संक्रमितको मृत्यु भइसकेको छ । एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ । संक्रमितमध्ये १८ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । सबैभन्दा बढी कैलालीमा ४६, अछाममा १५, कञ्चनपुरमा १३, डोटीमा १०, डडेल्धुरा र बझाङमा ७/७, बैतडीमा ६, बाजुरामा तीन र दार्चुलामा एक जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ९२, सुर्खेतको प्रयोगशालाबाट १२ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पाँच जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेशभर ३४६ आइसोलेसन

सुदूरपश्चिम प्रदेशभर हालसम्म ३४६ आइसोलेसन बेड छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकअनुसार आइसोलेसनमा ६७ जना बिरामी र ३६ जना शंकास्पद व्यक्तिलाई राखिएको छ । हालसम्म २८६ जना बिरामी र शंकास्पद व्यक्ति डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार हाल आइसोलेसनमा रहेका बिरामीको अवस्था सामान्य छ ।

एक जना काठमाडौँ रिफर

धनगढीका एक जना कोरोना संक्रमितलाई काठमाडौँ रिफर गरीएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिका ५ का ५१ वर्षीय कोरोना संक्रमितलाई काठमाडौँ रिफर गरिएको हो । सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारमा संग्लन डा. निराजनदत्त शर्माले उनलाई शुक्रबार राति साढे १० बजे रिफर गरिएको बताए । ‘मृगौलामा पनि समस्या देखाएको थियो भने निमोनिया पनि थियो,’ डा. शर्माले भने, ‘सेती अस्पताल लेबल २ को अस्पताल भएकाले थप उपचारका लागि लेबल ३ को टिचिङ अस्पताल काठमाडौँमा रिफर गरिएको छ ।’

सबै स्थानीय तहलाई ५०/५० शय्याको आइसोलेसन बनाउन पत्र

सुदूरपश्चिममा कोरोना संक्रमित बढ्दै गएको र अधिकांश लक्षणविहीन बिरामी बढी भएको भन्दै प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार ८८ वटै स्थानीय तहलाई परिपत्र गरी ५० शय्याको आइसोलेसनको व्यवस्थापन गर्न निर्देशन दिएको छ । सोही अनुसार केही स्थानीय तहले क्वारेन्टिन व्यवस्थापनको तयारी थालेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिकाले आफ्नै आइसोलेसन वार्ड सञ्चालन गर्ने तयारी गरिरहेको छ । नगरपालिकाले वडा नम्बर २ मा रहेको सभाहल र वडा कार्यालयलाई आइसोलेसन वार्ड बनाउने काम भइरहेको उपप्रमुख अञ्चला चौधरीले बताइन् । चौधरीले मालिका माविनजिकैको सभाहल र वडा कार्यालय भवनमा आइसोलेसन शय्या व्यवस्थापन गरिरहेको जानकारी दिइन् ।

कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले अहिले संक्रमितलाई टीकापुर अस्पतालको आइसोलेसन राखिए पनि थप आइसोलेसन शय्या व्यवस्थापनको तयारी थालिएको बताए । उनले कार्यपालिका बैठकमा छलफल गरी उक्त विषयलाई टुंगोमा पुर्‍याउने बताए । कैलालीको गोदावरी नगरपालिकाले मालाखेती अस्पतालमा आइसोलेसन शय्या बढाउने र संक्रमितको उपचारका लागि आवश्यक भेन्टिलेटरलगायतका उपकरण व्यवस्थापनको तयारी गरिरहेको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले स्वास्थ्य निर्देशनालयको परिपत्रपछि सबै वडामा पाँच/पाँच शय्याको आइसोलेसन वार्ड स्थापना गरिरहेको बताए । उनले आइसोलेसन वार्ड स्थापना गरिए पनि अन्य स्वास्थ्य जनशक्ति र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण अभावमा समस्या हुने जनाए ।

स्वाब संकलन स्थगित

सुदूरपश्चिममा पाँच दिनका लागि कोरोनाका सम्भावित संक्रमितको नमुना संकलनको काम स्थगित गरेको छ । प्रदेशमा यसअघि संकलित नमुनाकै परीक्षण गर्न बाँकी रहेकाले पाँच दिनका लागि थ्रोट स्वाबको नमुना संकलन स्थगन गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै पाँच दिनसम्म स्वाबको नमुना संकलन नगर्न भनेको हो । निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले धनगढी प्रयोगशाला मार्फत २५० जनाको मात्र परीक्षण सम्भव भएको बताए ।

संक्रमितको सम्पर्कमा आएका र कोरोना लक्षण भएकाहरुका लागी स्वाव संकलन नरोकिने निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा एउटा मात्र कोरोना परीक्षण प्रयोगशाला छ ।

कोरोना रोकथाममा ३६ करोड खर्च

सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि ३६ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । सुदूरपश्चिम प्रदेशले कोरोनाभाइरस रोगको जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोषमार्फत ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेको हो । कोषमा जम्मा ४२ करोड ५५ लाख ४९ हजार ४६० रुपैयाँ संकलन भएको थियो ।

उक्त रकम प्रदेशका नौ जिल्लाका विभिन्न स्थानमा कोरोना अस्पताल स्थापना, उपकरण खरिद तथा स्थानीय तहलाई राहत वितरण तथा क्वारेन्टिन निर्माणमा खर्च भएको प्रदेश सरकारले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि ८८ वटा स्थानीय तहलाई १५ करोड २६ लाख वितरण गरिएको थियो भने नौ वटा जिल्ला प्रशासनलाई ५ लाखका दरले ४५ लाख वितरण गरेको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु