गृहपृष्ठ क्वारेन्टिन अवधि पूरा गरेकाहरुको पनि कोरोना परीक्षण हुन नसक्दा व्यवस्थापन खर्च बढ्यो

क्वारेन्टिन अवधि पूरा गरेकाहरुको पनि कोरोना परीक्षण हुन नसक्दा व्यवस्थापन खर्च बढ्यो

विद्यालयको क्वारेन्टिनमा बसेकाहरू । (फाइल तस्बिर)

कोरोना महामारीबाट विश्व नै आक्रान्त बनिरहेका बेला सुदूरपश्चिम प्रदेशमा चेकजाँचको दायरा बढ्न सकेको छैन । कैलाली जिल्लामा मात्रै भारतबाट हालसम्म ६० हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । तीमध्ये अधिकाशंको आरडीडी परीक्षणसमेत हुन नसक्दा अवधिभन्दा बढी क्वारेन्टिनमै बस्नुपरेको छ ।

सरकारले पीसीआर परीक्षणको दायरा नबढाएको भन्दै चौतर्फी विरोध भइरहे पनि सुदूरपश्चिममा भने आरडीटीसमेत पर्याप्त हुन सकेको छैन । भारत तथा कोरोना प्रभावित क्षेत्रबाट गृहनगर फर्केका व्यक्तिहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने सरकारी नियम छ । सो अवधि पुरा गरेपछि आरडीटी विधिबाट परीक्षण गरेपश्चात मात्र घर पठाउनु पर्ने प्रावधान छ । तर यहाँ भने क्वारेन्टिन अवधि पुरा भइसके पनि उनीहरु घर जान पाएका छैनन् ।

दिनहुँ भारतबाट नेपाली नागरिकहरु स्वदेश फर्किरहँदा आरडीटी परीक्षणमा समेत तीव्रता नदिएको भन्दै क्वारेन्टिनमा बसेकाहरु चिन्तित बनेका छन् । क्वारेन्टिन अवधि पुरा गरेकालाई आरटीडी परीक्षण गरी घर पठाउने र पोजेटिभ आएकाहरुको स्वाब संकलन गरी पीसीआर परीक्षणमा समेत ढिलाई भइरहेको उनीहरुले बताएका छन् ।

२० दिनभन्दा बढी क्वारेन्टिनमै राख्नुपर्दा योजनाभन्दा बढी रकम खर्च हुन थालेको जनप्रतिनिधिहरुले बताएका छन् । धनगढी उपमहानगरपालिका क्षेत्रमा मात्रै क्वारेन्टिन अवधि पुरा गरेकाहरुले समेत घर जान पाएका छैनन् । आरडीटी रिपोर्ट पोजेटिभ आएकाहरुको पनि एक साता बित्दासम्म स्वाब संकलन नभएपछि जनप्रतिनिधिहरु नै आक्रोशित बनेका छन् । क्वारेन्टिन व्यवस्थापनका लागि स्थानीय तहलाई जिम्मा दिए पनि समयमै परीक्षण नगर्दा समस्या उत्पन्न भएको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐरले बताए ।

कैलालीमा मात्रै हालसम्म ६० हजारभन्दा बढी भारतबाट नेपाली नागरिक भित्रिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । हालसम्म १५ हजार ९ सय ४५ जनाको आरडीटी र ३ हजार १४ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । समयमै सबैको परीक्षण गरी घर पठाउन नसकेको स्वास्थ्य कार्यालयले स्वीकार गरेको छ । जिल्ला तथा प्रदेश आपूर्ति व्यवस्था कार्यालयमा किटका लागि माग गरे पनि आवश्यकताअनुसार आउन नसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए ।

क्वारेन्टिन अवधि पूरा गरेकाहरुको समयमै परीक्षण नगर्दा कोरोना संक्रमणको जोखिम झनै बढेको छ । दैनिक भारतबाट आउने क्रम जारी रहँदा क्वारेन्टिन अवधि पूरा गरेकाहरुलाई परीक्षण गरी घर पठाउन सके व्यवस्थापनमा समेत सहज हुने जनप्रतिनिधिको अपेक्षा छ । क्वारेन्टिन अवधि पूरा गरेकाहरुको समयमै कोरोना परीक्षण गरी घर पठाउन उनीहरुले आग्रह गरेका छन् ।

प्रकाशित समय १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु