गृहपृष्ठ संक्रमितको संख्या ७१७७ पुग्यो, थप ५८६ मा कोरोना संक्रमण पुष्टि
संक्रमितको संख्या ७१७७ पुग्यो, थप ५८६ मा कोरोना संक्रमण पुष्टि
बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४० महिला र ५४६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७१७७ पुगेको छ । उनीहरु मध्ये ५३९ महिला र ६६३८ जना पुरुष रहेका छन् । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म एक हजार १६७ जना कोरोनामुक्त भएका छन् ।
बुधबार थप एक जनाको मृत्यु भएकाे छ । मन्त्रालयका अनुसार बाँके बैजनाथ- ६ की ४६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । मिर्गौलासम्बन्धी समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो ।
१ गते नै कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरिए पनि २ गते मात्रै रिपोर्ट आएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।
प्रकाशित समय १६:२३ बजे

















