गृहपृष्ठ नेपालका कोभिड- १९ संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका व्यक्ति
नेपालका कोभिड- १९ संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका व्यक्ति
नेपालमा कोभिड- १९ संक्रमितको संख्या नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नौ हजार २६ जनामा कोभिडको संक्रमण पुष्टि भएको सन्दर्भमा अहिलेसम्म यो रोग समुदायमा नफैलिएको विज्ञले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुवेद पाण्डे संक्रमितको संख्या बढिरहे पनि कोभिडको संक्रमण समुदायमा फैलिनसकेको बताए । नेपालमा कोभिडका संक्रमितमध्ये अधिकांश विदेशबाट आयातीत व्यक्ति भएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नभएको उनको भनाइ छ ।
उनका अनुसार कूल कोभिडका संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका र तीमध्ये पनि सबैजसो भारतबाट आएका छन् । यो संख्या ९२ प्रतिशत पुरुष छन् । उनीहरु १५ देखि ५४ वर्ष उमेरका छन् । उनीहरु श्रमका लागि विदेश गएका र नेपाल फर्कदा कोभिड संक्रमित भएर आएको अवस्था रहेको डा. पाण्डेले बताए ।
उनले भने, ‘अहिलेसम्म कोभिड संक्रमितमध्ये सबैजसो व्यक्ति विदेशबाट आएका र आयातीत व्यक्ति पनि धेरैजसो पुरुष हुनुहुन्छ । उहाँहरु काम विशेषले विदेश गएर फर्किएकाले नेपालमा अहिलेसम्म समुदायमा रोग नगएको कुरा पुष्टि हुन्छ ।’
नेपालमा कोभिड- १९ का कारण मृत्यु भएका २३ मध्येमा चार महिला र बाँकी पुरुष छन् । उनीहरु पनि विभिन्न किसिमका दीर्घ रोगका कारण मृत्यु भएको देखिन्छ । विशेषगरी किड्नी, दम, उच्च रक्तचाप आदिका बिरामीको बढी मृत्यु हुने गरेको बताइएको छ ।
अहिले दैनिक बढेको कोभिड संक्रमितको ग्राफ अबको केही दिनमा क्वारेन्टिनको परीक्षण सकिएपछि संक्रमितको संख्या पनि घट्दै जाने उनले बताए । पछिल्लोपटक छदेखि आठ दिनको अवधिमा झण्डै दोब्बर संक्रमित बढेका छन् । अहिले परीक्षणको दायरा बढेको र विदेशबाट आउने क्रम पनि बढिरहेकाले संख्या धेरै देखिएको डा. पाण्डेको भनाइ छ ।
महाशाखाले सम्भावित संक्रमितको कन्ट्याक ट्रेसिङका लागि २० वटा टिम तयारी अवस्थामा रहेका र हरेक प्रदेशमा तीन-तीन टिम परिचालन भइरहेका जानकारी दिँदै यो कार्यलाई बढाइ समुदायमा कोभिडको संक्रमण जान नदिन सक्रिय रुपमा लागि परेको निर्देशक पाण्डेले बताए ।
प्रकाशित समय १३:०४ बजे

















