गृहपृष्ठ काठमाडौं उपत्यकामा फैलँदै कोरोना संक्रमण, यी २३ स्थानमा भेटिए संक्रमित
काठमाडौं उपत्यकामा फैलँदै कोरोना संक्रमण, यी २३ स्थानमा भेटिए संक्रमित
लकडाउन खुला भएसँगै काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मंगलबारसम्म २ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा १ सय ७५, ललितपुरमा ४९ र भक्तपुरमा पनि ४३ जना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाभित्र काठमाडौंमा १४, ललितपु १०र र भक्तपुरमा ४ गरी २८ जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । काठमाडौंको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङबुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा संक्रमण भेटिएको उनले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा मुलुकभर २०४ संक्रमित थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । पछिल्लो २४ घण्टामा छ हजार १३३ नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म पीसीआर विधिबाट दुई लाख ६१ हजार ८६१ नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १८:४६ बजे

















