गृहपृष्ठ सुदूरपश्चिममा ९ सय ८ जनाको पीसीआर रिपोर्ट आउन बाँकी
सुदूरपश्चिममा ९ सय ८ जनाको पीसीआर रिपोर्ट आउन बाँकी
सुदूरपश्चिममा विभिन्न समयमा नमुना संकलन गरिएकामध्ये ९ सय ८ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएका ६ सय ३१ नमुनाको रिपोर्ट आएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँबाट पनि २ सय ७७ वटा नमूनाको रिपोर्ट आउन सकेको छैन ।
सुदूरपश्चिमा अहिलेसम्म साढे २५ हजार बढीको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य निर्देशनालयले धनगढी प्रयोगशाला र काठमाडौँ प्रयोगशालामा गरी २५ हजार ६ सय ४३ जनाको परीक्षण भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा १३ हजार चार सय २५ र धनगढी प्रयोगशालामा १२ हजार दुई सय १८ जनाको कोरोना परीक्षण भएको हो । यसमध्ये अहिलेसम्म ३ हजार ९ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रदेशमा १ लाख १७ हजार सात सय ३८ जनाको आरडीटी परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा एक सातायता कोरोनाभाइरस संक्रमण घट्ने क्रम जारी छ । शनिबारसम्म यो क्रम जारी छ । शनिबार पनि सुदूरपश्चिममा तीन जनामा मात्रै कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सेतीको प्रयोगशालामार्फत दुई सय ९० जनाको कोरोना परीक्षण भएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमण १ अंकमा
यसअघि दैनिक बढीमा तीन अंकमा कोरोना संक्रमित भेटिरहेको सुदूरपश्चिममा पछिल्लोसमय त्यो संख्या एक अंकमा झरेको हो । यसअघि प्रदेशमा सबैभन्दा बढी एकैदिन ५ सय १५ जनामा कोरोना पुष्टि भएको थियो । सुदूरपश्चिममा शनिबारसम्म संक्रमितको संख्या ३ हजार ९ सय १४ पुगेको छ । ८ जना संक्रमितको मृत्यु भएको छ । यस्तै सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहको आईसोलेसनबाट १ हजार २ सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कञ्चनपुरका तीन सय ५६ जना, बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, अछामका एक सय ६४ र डोटीका एक सय ५७ र कैलालीका एक सय एक जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ । यस्तै बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका ८० जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ३९, महाकाली अस्पतालमा १८, अछाम अस्पतालमा १०, सेती अस्पतालमा ६, मालाखेती अस्पतालमा तीन, डोटी र बाजुरा अस्पतालमा दुई/दुई जनाको उपचार भइरहेको छ ।
प्रकाशित समय १४:२२ बजे

















