गृहपृष्ठ वीरगञ्जमा थप ३ सय शय्याको कोभिड अस्पताल सञ्चालन गर्ने तयारी

वीरगञ्जमा थप ३ सय शय्याको कोभिड अस्पताल सञ्चालन गर्ने तयारी

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कोभिड विशेष अस्पताल सञ्चालन गर्ने केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

पर्सामा संक्रमितहरुको संख्या बढिरहेको बेला जिल्लामा कोभिड विशेष अस्पताल अपर्याप्त भएको विश्लेषण गर्दै नेसनल मेडिकल कलेजमा थप ३ सय शय्याको कोभिड अस्पताल सञ्चालनका लागि पहल गर्न केन्द्रलाई सिफारिस गर्ने निर्णय भएको हो । अस्पताल सञ्चालनकालागि संकट व्यवस्थापन केन्द्र पर्साले केन्द्रीय संकट व्यवस्थापन सञ्चालन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्दै पत्र पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारि विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले नारायणी अस्पतालमा कार्यरत ३८ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमउ पुष्टि भएका कारण जनशक्तिको अभावले बन्द रहेका अस्पतालका नियमित सेवाहरु पुन: सुचारु गर्न संघ र प्रदेश सरकारसँग थप स्वास्थ्यकर्मी व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले लक्षण भएका र सामान्य लक्षण भएका संक्रमितहरुलाई राख्न थप सामुदायिक आइसोलेसन सेन्टर सञ्चालन गर्ने पनि निर्णय गरेको छ । वीरगञ्जमा महानगरपालिका वडा नं. ९ घडिअर्वास्थित गोपाल मण्डली धर्मशालामा १ सय ११, वीरगञ्ज महानगरपालिका वडा नं. १३ चिनीमिल आवास क्षेत्रस्थित सिद्दार्थ माध्यमिक विद्यालयमा ६०, वीरगञ्ज महानगरपालिका वडा नं. ८ लिंकरोडस्थित होटल रानीपोखरीमा ६० र वीरगञ्ज महानगरपालिका वडा नं. ६ मेनरोडस्थित राणी सति अतिथि सदन धर्मशालामा ६० गरी २ सय ८० शय्याको सामुदायिक आइसोलेसन सेन्टर स्थापना गरिने जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्तासमेत रहेका सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।

सामुदायिक आइसोलेसन सेन्टरहरुमा वीरगञ्ज कारागारका कोरोना संक्रमितहरुलाई समेत राखिने छ । आइसोलेसन सेन्टर नारायणी अस्पतालको सुपरिवेक्षणमा रहने छ भने स्वास्थ्यकर्मीको व्यवस्था वीरगञ्ज महानगरपालिकाले गर्ने निर्णय भएको छ ।

बैठकले विगत १५ दिनदेखि जिल्लाको सदरमुकाम वीरगञ्जमा लागेको निषेधाज्ञाले सामान्य मानिसको जीवन कष्टकर बन्दै गएपछि मापदण्डहरु अनिवार्य रुपमा पालना हुनेगरी उचित समयमा स्थानीय तह र प्रहरीसँग समन्वय गर्दै खाद्यान्न विक्रीवितरणका लागि किराना लगायतका पसलहरु खोल्न दिने निर्णय गरेको हो । पसलहरु खोल्ने समय सबन्धित स्थानको संक्रमणको अवस्था र आवश्यकताको आधारमा स्थानीय तह र प्रहरीसँग समन्वयमा निर्धारण गरिने छ ।

त्यसैगरी नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखालाई स्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डहरुको पालना गर्दै न्यूनतम रुपमा भए पनि बैंकिंङ सेवा प्रवाह गर्न दिने बैठकमा निर्णय भएको छ । यस्तै, सदरमुकाम बाहिरका जटिल अवस्थाका संक्रमिततहरुलाई मात्र वीरगञ्ज ल्याउने र अन्यलाई सम्बन्धित पालिकाहरुले स्थानीय स्तरमै सामुदायिक आइसोलेसन सेन्टर स्थापना गरी व्यवस्थापन गर्नुपर्ने निर्णय पनि गरिएको छ ।

प्रकाशित समय १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु