गृहपृष्ठ मध्यपुर थिमी नगरपालिका १ मा निःशुल्क कोरोना परीक्षण

मध्यपुर थिमी नगरपालिका १ मा निःशुल्क कोरोना परीक्षण

कोरोनाभाइरस (कोभिड १९) संक्रमणको जोखिम उच्च बन्दै गएपछि मध्यपुर ठिमी नगरपालिका १ ले लक्षण देखिएकाहरूको निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ । वडा नम्बर १ को आइतबार बिहान बसेको बैठकले संक्रमण नियन्त्रण तथा रोकथामका लागि लक्षण देखिएकाहरूको निःशुल्क परीक्षणको निर्णय गरेको हो ।

त्यसका लागि नगरपालिकाले वडालाई चार क्लस्टरमा विभाजन गर्ने अध्यक्ष सुरज खड्काले जानकारी दिए । ‘कोरोना नियन्त्रणका लागि वडालाई चार क्लस्टरमा विभाजन गरी पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘लक्षण देखिएकाहरूको नगरपालिकाले परीक्षण गर्नेछ ।’

त्यस्तै वडामा १५  शय्याको आइसोलेसन व्यवस्थापनका लागि उचित स्थान पहिचान गरी नगरपालिकामा अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले वडाभित्र संक्रमितको संख्या बढ्दै गएमा आदर्श मावि वा सानो ठिमी क्याम्पस वा टिआईटिआईमा क्वारेन्टिन व्यवस्थापनका लागि आग्रह गर्ने निर्णय भएको अध्यक्ष खड्काले बताए ।

मध्यपुर ठिमी वडा नम्बर १ मा हालसम्म चार जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरूको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये दुई जना महिला र दुई जना पुरुष छन् ।

यसअघि नगरपालिकाले उपत्यका नगरपालिका फोरमको साउन २६ गतेको निर्णयअनुसार साउन २७ देखि भदौ ९ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले साउन ३१ गतेको बैठकमार्फत थप कडा निर्णय लिएको छ । जसअनुसार साउन ३२ गतेदेखि भदौ ९ गतेसम्म नगरपालिकाभित्र अत्यावश्यकबाेहेकका कुनै पनि पसल व्यवसाय सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक सामग्री (खाद्यान्न, पानी, ग्यास र औषधि पसल) पनि बिहान ११ बजेदेखि १ बजेसम्म मात्र खोल्न पाइनेछ । नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाइने छैन । अरनिको राजमार्गको हनुमत्ने पुलदेखि मनोहरा पुलसम्म सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न पाइने छैन । नगरपालिकाको निर्णयविपरीतका गतिविधि भए संक्रामक रोग ऐनअनुसार कारबाही हुनेछ ।

नेपाल भाषामा सूचना

प्रकाशित समय ०९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु