गृहपृष्ठ पर्सा र बारामा एकैदिनमा थपिए १३४ संक्रमित

पर्सा र बारामा एकैदिनमा थपिए १३४ संक्रमित

नारायणी अस्पतालमा गरिएको परीक्षणमा ६६ र काठमाडौंस्थित टेकु प्रयोगशालामा गरिएको परीक्षणमा ६८ गरी बारा र पर्सामा थप १३४ जना कोरोना संक्रमित भेटिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा र बाराका सञ्चारकर्मी, चिकित्सक, प्रहरी गरी थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ५५ र बारामा ११ जना गरी थप ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सबैभन्दा धेरै २५ जना पर्साको बहुदरमाई नगरपालिकाका छन् । बहुदरमाई नगरपालिका ४ बहुअरीका दुई जना र अन्य वडाका पाँच जना गरी २५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । विभिन्न व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा साउन ३० गते बहुदरमाई स्वास्थ्य चौकीमा ७७ जनाको स्वाबको नमुना संकलन गरेर परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको बहुदरमाई नगरपालिका कार्यालयले जनाएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत पाँच जना र वडा प्रहरी कार्यालय विर्तामा कार्यरत दुई जना गरी सात जना प्रहरीमा पनि कोरोना पोजेटिभ देखिएको छ । पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले सात जना प्रहरीमा संक्रमण देखिएको पुष्टि गरे । यस्तै नारायणी अस्पतालका एक जना चिकित्सक र एक जना ओपिडीका कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, वीरगन्ज महानगरपालिका १० मुर्ति चोकका आठ जना र वडा नं. १ र २ मा पर्ने छपकैयाका पाँच जनामा पनि संक्रमण देखिएको छ । बारा जिल्लामा भेटिएका संक्रमितमध्ये पाँच जना प्रसौनी गाउँपालिकाका छन् भने पिलुवाका दुई जना, सिम्रौनगढ नगरपालिकाका एक जना र कलैया उपमहानगरपालिकाका एक जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जयमोद ठाकुरले जानकारी दिए ।

नारायणी अस्पतालमा सोमबार राति गरिएको परीक्षणमा ८ वर्षकी बालिकादेखि ७९ वर्षीय वृद्धमा संक्रमण देखिएको हो । संक्रमित हुनेमा १७ जना महिला छन् । मंगलबार थपिएकामध्ये दुई जनाको नारायणी अस्पतालस्थित आइसीयुमा उपचार चलिरहेको ठाकुरले बताए ।

यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार सोमबार राति टेकु प्रयोगशालाले पठाएको संक्रमितको विवरणअनुसार पर्साका १६ महिलासहित थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो । वीरगन्जस्थित श्रीपुर विधापीठ स्कुल र त्रिजुद्ध स्कुलमा गरिएको स्वाब कलेक्सनको रिपोर्ट आउँदा थप ६८ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये ५७ जनाले श्रीपुर विद्यापीठमा स्वाब जम्मा गराएका थिए भने ११ जनाले त्रिजुद्धमा स्वाब जम्मा गराएको ठाकुरले बताए ।

प्रकाशित समय ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु