गृहपृष्ठ एकै महिनामा २६ जना अख्तियारको नियन्त्रणमा, १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
एकै महिनामा २६ जना अख्तियारको नियन्त्रणमा, १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अपचलनको आरोपमा एकै महिनामा २५ जनालाई नियन्त्रणमा लिएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा एक हजार ४९४ उजुरी परेकोमा अख्तियारले एक करोड ८७ लाख ५९ हजार ९५ रुपैयाँबराबर अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा इन्जिनियरदेखि कार्यालय सहयोगीसम्म छन् । संख्यात्मक आधारमा स्थानीय तहका कर्मचारी बढी अख्तियारको फन्दामा परेका छन् ।
को‑को परे पक्राउ ?
अख्तियारले साउनमा नियन्त्रणमा लिएकामध्ये नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रिड शाखा धनुषाका कार्यालय प्रमुख उप्रबन्धक रितेश गुप्ता सबैभन्दा बढी घुस लिने आरोपी हुन् । उनी एक करोड २४ लाख ९१ हजार १४५ रुपैयाँबराबरको हस्तक्षरित चेकसहित पक्राउ परेका छन् । भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भन्दै उनले पहिला नै चेक काटेको अख्तियारको आरोप छ । दोस्रोमा भेरी अस्पताल बाँकेका कम्प्युटर अपरेटर अरुणराज खनाल स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँसहित पक्राउ परेका छन् ।
यस्तै इटहरी उपमहानगरपालिका सुनसरीमा कार्यारत लेखा अधिकृत विकास पोखेरल ६५ हजार घुस रकमसहित पक्राउ परेका छन् । पोखरेलले नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्न सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । उनी साउन १ गते पक्राउ गरेका हुन् । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कलैयामा कार्यरत सबइन्जिनियर गजेन्द्रप्रसाद जैसवाल र चन्दन जैसवाललाई अख्तियारले साउन ४ गते नियन्त्रणमा लिएको छ । नदी तटबन्धको जाली लगाउने काम सम्पन्नपछि रकम भुक्तानी गरेबापत उनले सेवाग्राहीसँग ८० हजार घुस मागेका थिए ।
यसैगरी साउन ५ गते ललितपुरको गोदावरी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र सबइन्जिनियर किशोरकुमार मोक्तान अख्तियारको नियन्त्रणमा परेका छन् । उनीहरु निर्माणाधीन आयोजनाको बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग डेढ लाखबराबर घुससहित पक्राउ परेका हुन् ।
अख्तियारले साउन ७ गते चुरे गाउँपालिका घरखेडाका कर्मचारी सबइन्जिनियर चन्द्रदेव भट्टलाई २० हजार घुससहित पक्राउ गरेका छ । उनले सडकको इस्टिमेन्ट नापजाँच तथा मूल्यांकन गरिदिएबापत सेवाग्राहीसँग घुस लिएका थिए । डिभिजन वन कार्यालय सुनसरीका डिभिजन प्रमुख रामबाबु शाह र उनकी श्रीमती किरण शाहलाई अख्तियारले स्रोत नखुलेको ५ लाख ५३ हजार रकमसहित पक्राउ गरेको छ ।
यसैगरी लमजुङको मर्स्याङ्दी गाउँपालिकाका इन्जिनियर भुपेन्द्रकुमार मण्डल र सबइन्जिनियर टीकाप्रसाद गुरुङ तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी (चेन म्यान) विश्वनाथप्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाय, राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिलकुमार झा पनि अख्तियारको फन्दामा परेका छन् ।
यस्तै नेपाल खानेपानी संस्थान बुटवलका इन्जिनियर सन्तोष शाह साउन २६ गते र उदयपुरको मैनामनीस्थित सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जना पक्राउ परेका छन् । शाह स्रोत नखुलेको ८ लाख २२ हजार रकमसहित पक्राउ परेका हुन् । शिवनारायणसहित सब-डिभिजन वन कार्यालय लालबजार रामपुर उदयपुरका प्रमुख (सहायक वन अधिकृत) विनोदकुमार साह, फोरेस्टर रमेश राई, सब-डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेस्टर विशेश्वर चौधरी, वनरक्षकहरू शैलेन्द्र झा र मनोजकुमार राउत गरी ६ जनालाई १७ हजारबराबर घुस लिएको अख्तियारले जनाएको छ ।
कति जनालाई चलाइयो मुद्दा ?
अख्तियारले सिद्धराज जोशी, चन्द्रदेव भट्ट, इन्जिनियर भुपेन्द्रकुमार मण्डल, सबइन्जिनियर टिकाप्रसाद गुरुङ, गोविन्द शाह, समीर भण्डारी, कृष्णबल्लभ ठाकुर, सबइन्जिनियरहरु रञ्जितकुमार श्रेष्ठ र विरेन्द्र चन्द, नारायणकाजी श्रेष्ठ, सहायक प्रहरी निरीक्षक रामविश्वासराय यादवविरुद्ध पनि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार विकास पोखरेल, इन्जिनियर मिलन अधिकारी, हुकुमबहादुर ओलीविरुद्ध पनि मुद्दा दायर भएको छ । यस्तै कल्याणपुर नगरपालिका प्रमुख सूर्यनाथ मण्डल, चन्द्रदेव भट्ट र शिक्षक मिरा रानाविरुद्ध मुद्दा पनि मुद्दा दायर भइसकेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
साउनमा सबैभन्दा बढी ५०६ वटा लिखित उजुरी परेका छन् । त्यस्तै हुलाकबाट २७२, इमेलबाट ३३३, वेबसाइटबाट १७३, टेलिफोनबाट १२१, फेसबुकबाट ३७, मोबाइल एपबाट २५, पत्रपत्रिका २३, फ्याक्सबाट दुुई र भाइबरबाट दुईवटा उजुरी परेको अख्तियारले जनाएको छ ।
प्रकाशित समय ११:५१ बजे

















