गृहपृष्ठ नेपालमा मोटा मानिसहरूको संख्या उच्च गतिले बढ्दै

नेपालमा मोटा मानिसहरूको संख्या उच्च गतिले बढ्दै

OVERWEIGHT_Newskarobar

कोरोना भाइरसको महामारी नफैलियोस भनेर गत चैत ११ गतेदेखि अवलम्बन गरिएको घरबन्दीका कारण घरमै बस्ने, खानपिन र व्यायाममा ध्यान नदिने कारण धेरै नेपाली, खासगरी सहरी नेपालीहरू यतिबेला डम्म ‘खाइलाग्दा’ देखिन थालेका छन् । तर, यो ‘खाइलाग्दो’ ज्यान अधिक मोटोपनका पूर्वअवस्था पनि हुनसक्छ ।

नेपालीहरूका खानपिन र रहन-सहनका बानीव्यहोरामा आएको परिवर्तनसँगै देशभित्र अत्यधिक मोटोपन (ओभरवेट) भएका मानिसहरूका संख्या बढ्न थालेका छन् ।

मोटोपन भएका नेपालीहरूको संख्या बढेसँगै मुटुजन्य रोग, मधुमेह र क्यान्सरजस्ता दीर्घरोगका बिमारीहरू पनि नेपालमा बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । डब्लूएचओका अनुसार नेपालमा हुने कुल मृत्युमा यस्ता दीर्घकालीन रोगबाट मृत्यु हुनेहरूको अनुपात ४२ प्रतिशत छ ।

डब्लूएचओले प्रकासित एक स्थितिपत्रअनुसार सन् २००५ मा ८.५ प्रतिशत नेपालीहरू अधिक मोटोपनको अवस्थामा रहेकोमा सन् २०१५ मा यो संख्यामा वृद्धि भइ १३.५ प्रतिशत पुगेको छ ।
यसमध्ये सन् २००५ मा ३० वर्षभन्दा माथिका ९ प्रतिशत पुरुष र ८ प्रतिशत महिला मोटोपनका अवस्थामा रहेकोमा सन् २०१५ मा १४ प्रतिशत पुरुष र १३ प्रतिशत महिला मोटोपनका अवस्थामा पुगेका छन् ।

आउँदो दशकमा नेपालमा मोटोपन भएका व्यक्तिहरू अझ तीव्र गतिमा बढ्ने जोखिम डब्लूएचओले औंल्याएको छ । गुलियो, अत्यधिक बोसोजन्य पदार्थ, माछामासु, तारेका फास्टफुडजस्ता खानपिन, शारीरिक पारिश्रममा कमीजस्ता कारणले मोटोपन भएका नेपालीका संख्या बढेको हो ।

डब्लूएचओले स्वस्थ्य खानपिन मा ध्यान दिँदा, नियमित शारीरिक गतिविधि बढाउँदा र सुर्तीजन्य पदार्थको सेवन बन्द गर्दा ८० प्रतिशत मुटुजन्य रोग र हृदयाघात तथा मधुमेह (टाइप टु डाइबिटिज) तथा ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने बताएको छ ।

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु