गृहपृष्ठ कोरोना संक्रमण बढेको बढ्यै, प्रदेश सरकार ‘भगवान भरोसा’मा !

कोरोना संक्रमण बढेको बढ्यै, प्रदेश सरकार ‘भगवान भरोसा’मा !

कर्णालीमा पहिलो संक्रमित भेटिएको ठिक तीन महिनामा संक्रमितको संख्या २ हजार २ सय ४० पुगेको छ । संक्रमणको दर पहिलेभन्दा तीव्र गतिमा बढेको छ । अर्थात् कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको छ । तर प्रदेशभर कोरोनाका बिरामीलाई उपचारका लागि जम्मा ४० वटा आइसीयू कक्ष, १७ वटा भेन्टिलेटर र १ हजार ४ सय २८ आइसोलेसन बेड तयारी गरिएको छ । संक्रमणको दर हेर्ने हो भने थुप्रै अझ थप आइसोलसशन बेड, आइसीयू कक्ष र भेन्टिलेटरको आवश्यकता पर्ने देखिन्छ । तर प्रदेश सरकारले भने संरचना निर्माणको तयारी खासै गर्न सकेको छैन । कर्णाली सरकार भने ‘भगवान भरोसा’को शैलीमा काम गरिरहेको छ ।

दैलेखको आठबिस नगरपालिकाका ३५ वर्षीय युवामा गत जेठ ५ गते कोरोना संक्रमण (कोभिड- १९) पुष्टि भएको थियो । भारतबाट आएका ति युवामा संक्रमण पुष्टि हुनुअघि कर्णाली ग्रिन जोनमा थियो । उनलाई संक्रमण पुष्टि हुँदा प्रदेशभर ४ सय २० आइसोलेसन र २२ वटा आइसीयू तयारी अवस्थामा थिए । तर भेन्टिलेटर भने राखिएको थिएन । कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर मेसिन सञ्चालनमा थियो । साउनको अन्तिम सातासम्म पनि क्वारेन्टिनमा सीमित संक्रमण अहिले समुदाय स्तरमा फैलिसकेको छ । संक्रमितको दर दिनप्रतिदिन बढ्ने क्रममा भए पनि रोकथामका लागि सरकारको तयारी भने खासै आशलाग्दो देखिँदैन ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले पछिल्लो समय संक्रमणको दर बढ्ने संकेत देखिएको बताए । कोरोना रोकथामका लागि संरचना मात्रै थपेर नहुने भएकाले तालिमप्राप्त छुट्टै जनशक्ति आवश्यक पर्ने उनको भनाइ छ । ‘हालसम्म एकदुई जनाबाहेक अन्य बिरामीलाई भेन्टिलेटर तथा आइसीयूमा राख्नु परेको छैन,’ डा. खड्काले भने, ‘हालको जनशक्तिअनुसार त भौतिक संरचना पर्याप्त नै छ । तर संक्रमितको दर बढ्दै गएकाले थप संरचनाको समेत आवश्यक छ ।’

उनका अनुसार भेन्टिलेटर र आइसीयूमा कक्षमा बस्ने छुट्टै तालिमप्राप्त चिकित्सक तथा नर्सहरुको आवश्यकता पर्छ । संरचना मात्रै थपेर त्यसलाई सञ्चालन गर्ने जनशक्ति भएन भने थपेको संरचनाको अर्थ नहुने डा. खड्काले बताए । ‘अन्य मुलुकहरुमा जस्तो सबै बिरामी आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने भएको भए स्थिति नियन्त्रणभन्दा बाहिर हुन्थ्यो,’ उनले भने, ‘तर अहिलेसम्म कर्णालीमा मात्रै नभई नेपालमा न त्यसरी आइसीयू र भेन्टिलेटर नै चाहिहाल्ने अवस्था आएको छैन ।’ डा. खड्काले तत्कालका लागि संरचना पर्याप्त भए पनि सम्भावित जोखिमलाई हेरी संरचना र जनशक्ति थप्नु आवश्यक भएको औंल्याए । पाँच महिनादेखि कुनै पनि स्वास्थ्यकर्मीले तालिम पाउन नसकेको उनले बताए । स्वास्थ्यकर्मीहरुलाई तालिमको आवश्यक तालिम तत्काल व्यवस्था हुनुपर्ने उनको माग छ ।

सामाजिक विकास मन्त्री दल रावलले आवश्यकता अनुसार संरचना र जनशक्ति थप्दै जाने प्रतिवद्धता व्यक्त गरे । उनका अनुसार यसअघि नै कर्णालीका सबै जिल्ला अस्पतालहरुमा कम्तीमा पनि ५ वटा आइसोलेसन र एउटा भेन्टिलेटर कक्ष निर्माणका लागि बजेटसमेत पठाइसकिएको छ । त्योबाहेक प्रदेशमा भएका जनशक्तिलाई तालिम दिने तयारी भइरहेको उनले बताए । ‘यसैको तयारी छलफलको लागि मन्त्रालयमा बैठक बस्दैछौं । आवश्यकताको आधारमा कोरोना रोकथामका लागि संरचना थपिन्छ,’ उनले भने ।

मन्त्री रावलले कोरोना रोकथामका लागि मातहतका स्वास्थ्य कार्यालयहरुलाई ३० करोड बजेट वितरण गरिसकिएको र अपुग भएको खण्डमा कोरोना कोषबाट खर्च गर्न सकिने बताए । ‘पहिलेको तुलनामा हामीले कोरोना रोकथामका लागि धेरै कामहरु गरेका छौं,’ उनले थपे ‘परीक्षणलाई बढाएका छौं । समुदाय स्तरमा कन्ट्रयाक ट्रेसिङ भइरहेको छ । संरचना समेत थप्ते तयारीमा छौ । दैनिक २५ सयभन्दा बढी परीक्षण गर्न सकिने गरी दैलेख, रुकुम लगायतका जिल्लाहरुमा पीसीआर मेसिन थप भएको उनले जानकारी दिए ।

मन्त्रालयले कोरोना प्रतिकार्यका लागि मातहतका स्वास्थ्य संस्थाहरुलाई ३० करोड ५९ लाख १५ हजार रुपैयाँ वितरण गरेको थियो । जसमध्ये असार मसान्तसम्म २३ करोड, ४८ लाख ६९ हजार खर्च भइसकेको मन्त्रालयको तथ्यांक छ । औषधि खरिदमा १ करोड २१ लाख ८७ हजार, स्वास्थ्य सामाग्री खरिदमा ७ करोड ४५ लाख ७६ हजार, पूर्वाधारमा ५ करोड २१ लाख २८ हजार, जनशक्तिमा ६ करोड ५५ लाख १७ हजार, प्रवर्द्धनात्मक कार्यमा ११ लाख ६० हजार र अन्यमा २ करोड ९३ लाख रुपैयाँ खर्च भएको हो ।

प्रकाशित समय १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु