गृहपृष्ठ अस्पताल नै असुरक्षित
अस्पताल नै असुरक्षित
फायल तस्बिर
चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालहरुमा संक्रमण फैलिँदै जाँदा अवस्था जटिल बन्दै गएको छ ।
हालसम्म जिल्लामा ३५२ जनामा संक्रमण देखिएको छ । तीमध्ये ५० भन्दा बढी त चिकित्सक र स्वास्थ्यकर्मी नै छन् । स्वास्थ्य कार्यालय चितवनका गीताञ्जलि ढकालका अनुसार यसै जिल्लामा घर भई यहाँका अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी ४१ जना संक्रमित भएका छन् ।
सबैभन्दा बढी बिपी कोइराला मोमोरियल क्यान्सर अस्पतालका १७, भरतपुर अस्पतालका १४, चिवतन मेडिकल कलेजमा एक, पुरानो मेडिकल कलेजका तीन जना छन् । त्यसैगरी रत्ननगर बकुलहर अस्पताल रत्ननगरका एक, सेन्ट्रल अस्पतालका दुई, मनकामना अस्पतालका एक, नारायणी सामुदायिक अस्पतालका दुई र अन्य साना अस्पताल एवं मेडिकलका तीन जना छन् ।
ढकालका अनुसार यहाँका अस्पतालमा काम गर्ने बाहिरी जिल्लाका आठभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । यो संख्या दैनिक बढ्दो छ । अन्य रोग लिएर अस्पताल आएकाहरुको उपचारकै क्रममा कोरोनाको संक्रमण देखिएर मृत्युसमेत हुन थालेको छ । अस्पतालमै रोग फैलिएर वा उनीहरुले समुदायबाट रोग ल्याएका हुन् भन्ने यकिन हुन सकेको छैन ।
जिल्लामा दुई दिनयता मृत्युपछि दुई जनाको कोरोना संक्रमण पुष्टि भएको छ । ती दुवै जना मकवानपुरबाट आएका हुन् । उनीहरुमध्ये एक महिलालाई एपेन्डिसाइटिस र अर्का वृद्ध पुरुषलाई हर्निया भएको थियो । दुबै जनाको पुरानो मेडिकल कलेजमा उपचार गरिएको थियो । कलेजका निर्देशक डा. मनोहर प्रधानका अनुसार अहिले अस्पतालमा उपचाररत दुई जनामा पनि संक्रमण देखिएको छ ।
यसअघि सोही कलेजमा उपचार गराइरहेका दुई जनामा संक्रमण देखिएपछि भरतपुर अस्पताल पठाइएको थियो । एक जना मृतकको नतिजा आउन बाँकी छ । अस्पतालका दुई चिकित्सक संक्रमित छन् । यससँगै ३० जना डाक्टरसहित ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी आइसोलेसनमा रहेको उनले बताए ।
अस्पतालमा भारत र सीमा क्षेत्रका बिरामी बढी आउँछन् । अस्पतालको व्यवस्थापन राम्रो हुन नसक्दा पनि संक्रमण नियन्त्रणमा कठिन भएको उनले बताए । रोग अस्पतालमा फैलिएको आशंकामा बिरामी त्रसित भएका छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी समुदायबाटै रोग अस्पताल आएको अनुमान लगाउँछन् । अस्पतालहरुले उपचारमा विशेष सावधानी पु‑याउनुपर्ने उनको भनाइ छ ।
कोरोनाका बिरामी छुट्याएर चिकित्सक र स्वास्थ्यकर्मी आलोपालो गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार उपचार गर्नुपर्ने उनले बताए । यसरी संक्रमण बढ्दै गएमा उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मी नै नहुने उनको आशंका छ ।
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपाने कोरोना र अन्य बिरामी एकै ठाउँमा उपचार हुँदा समस्या आएको बताउँछन् । दुबैथरी बिरामी एकै ठाउँमा उपचार कठिन हुने उनको भनाइ छ । दीर्घरोगीको मृत्यु हुन थालेको उनले बताए ।
चितवन मेडिकल कलेजमा एक चिकित्सकसहित १२ जना बिरामी संक्रमित भइसकेका छन् । सबै बिरामी एकै ठाउँमा आउँदा कोरोना भएको यकिन नहुने र उपचार गर्नेले कम तयारीमै उपचार गर्दा पनि रोग फैलिएको उनी बताउँछन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी समुदायबाट अस्पतालमा आयो वा अस्पतालमा संक्रमण फैलिएको यकिन भन्न नसकिने बताउँछन् । अस्पतालहरुमा कोरोना भएका र नभएका दुबैको उपचार भइरहेको छ ।
तिवारीले कहीँ एउटै अस्पतालमा दुबैथरीका बिरामी उपचार गरेको र कहीँ नगरेको उदाहरण दिए । पहिले कोरोनाका सबै बिरामी भरतपुर अस्पताल पठाइन्थ्यो । अहिले सरकारले जुन अस्पतालमा संक्रमण देखियो, त्यहीँ उपचार निरन्तरता दिने जनाएसँगै जिल्लाका सरकारी र निजी अस्पताल एवं मेडिकल कलेजमा बिरामी उपचाररत छन् ।
जिल्लामा अहिले भरतपुर अस्पतालको भरतपुर कोभिड१९ प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा नमुना परीक्षण भइरहेको छ । संक्रमण फैलिएपछि अन्य रोगका बिरामी सकेसम्म अस्पताल जान छाडेका छन, जानैपर्ने जटिल बिरामीमात्र अस्पताल जान थालेका छन् । (रासस)
प्रकाशित समय १७:४० बजे

















