गृहपृष्ठ हजारौँ मानिसहरू अस्पतालबाटै संक्रमित भएको युकेका वैज्ञानिकहरूको दाबी

हजारौँ मानिसहरू अस्पतालबाटै संक्रमित भएको युकेका वैज्ञानिकहरूको दाबी

वैज्ञानिकहरूले गरेको एक अध्ययनमा यूकेमा हजारौँ मानिसहरू अस्पतालबाटै कोरोनाभाइरस संक्रमित भएका हुनसक्ने देखिएको छ ।

किङ्स कलेज लण्डनले यूकेका १० अस्पताल अनि इटलीको एक अस्पतालमा गरेको अध्ययनमा त्यहाँ उपचाररत प्रत्येक आठमध्ये एक बिरामीमा अस्पतालमै संक्रमण भएको पाइएको छ ।

यसको अर्थ के हो ?

अनुसन्धानकर्ताहरू भन्छन् यो अनुपात तुलनात्मक रूपमा कम नै हो र यसले अस्पतालहरूमा प्रभावकारी संक्रमण नियन्त्रणका उपाय अपनाइएको देखिन्छ । उनीहरूले एप्रिल २८ सम्म १,५०० संक्रमितहरूको आँकडा केलाएका थिए । त्यतिखेर यूकेमा संक्रमण उच्च तहमा पुगेको थियो ।

मुख्य अनुसन्धानकर्ता डा. बेन कार्टर भन्छन् : ‘यी अधिकांश बिरामी पहिले देखिनै अस्पतालमा थिए । उनीहरू वृद्धवृद्धा थिए, कमजोर थिए र अन्य रोग लागेकाहरू थिए ।’ तर उनीहरूको उपचार पनि अरूको तुलनामा बढ्ता सफल रह्यो । शायद उनीहरूको रोग पहिचान र उपचार चाँडै हुन सक्यो ।

कसरी गरियो अनुसन्धान ?

अस्पतालमा भर्ना भएको १५ दिन वा त्योभन्दा धेरै दिनपश्चात् संक्रमित भएकाहरूलाई मात्र अस्पतालबाट संक्रमित भएको मानिएको छ । यदि अस्पतालमा भर्ना भएको ५ देखि १४ दिनको अवधिमा सङ्क्रमित भएकालाई पनि स्वीकार्ने हो भने यो अनुपात २३ प्रतिशतमा उक्लन्छ ।

तर, भाइरसको संक्रमणपश्चात् शरीरमा भाइरस सक्रिय हुने वा लक्षण देखापर्ने अवधि लामो हुने भएकाले अस्पतालबाटै संक्रमित भनेर यकिन गर्न असम्भव हुन्छ ।

अक्सफोर्ड विश्वविद्यालयका सघन उपचारसम्बन्धी विज्ञ प्राध्यापक डन्कन यङ् भन्छन् यस्तो अध्ययनले छोटो समयको अस्पताल बसाइमा सङ्क्रमित भएकाहरू समेट्न नसकेको हुन सक्छ । साथै यो अध्ययनले ती बिरामीमात्र समेट्न सक्यो जो थला परेर अस्पतालमा उपचार लिन बाध्य भए । (निक ट्रिगल/बीबीसीबाट)

प्रकाशित समय १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु