गृहपृष्ठ देशभर एकैदिन १,१११ जना कोरोना संक्रमित भेटिए
देशभर एकैदिन १,१११ जना कोरोना संक्रमित भेटिए
थप ५६९ जना डिस्चार्ज, निको हुनेको संख्या २० हजार ७३
पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ कोरोनाभाइरस (कोभिड- १९) का संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् । यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् ।
थप ८ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ८ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ८३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार कास्कीमा ३२ वर्षीया महिला, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, बाँकेकी ७० वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीय पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलबस्तुका ५० वर्षीय पुरुषको पछिल्लो २४ घन्टाभित्र कोरोनाका कारण ज्यान गएको हो ।
प्रकाशित समय १६:३४ बजे

















