गृहपृष्ठ नेपालमा पहिलोपटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु, श्रीमतीसमेत गम्भीर बिरामी
नेपालमा पहिलोपटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु, श्रीमतीसमेत गम्भीर बिरामी
नेपालमा पहिलोपटक कोरोनाबाट एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । तीन दिनअघि मृत्यु भएका महोत्तरीको मनरा सिसवा नगरपालिका- ४ का ४० वर्षीय हेल्थ असिस्टेन्टको नमुना परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
बिरामी परेका उनलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । बिरामीको सेवामा सक्रिय उनी भदौ ७ मा बिरामी परेका थिए । गाउँमै उपचार गर्दा अवस्था थप गम्भीर भएपछि काठमाडौंतर्फ ल्याइँदै गर्दा काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नगेन्द्रप्रसाद चौधरीले बताए । प्रमुख चाैधरीका अनुसार ज्यान गुमाएका स्वास्थ्यकर्मी मधुमेह र स्टोनको बिरामी थिए ।
मृतक स्वास्थ्यकर्मी महामारीका बेला गाउँगाउँ पुगेर बिरामीको सेवामा जुटेका थिए । बिरामीको उपचारकै क्रममा उनलाई पनि कोरोना संक्रमण भएको हुनसक्ने मनरा सिसवा नगरपालिका सूचना प्रविधि अधिकृत आलोक कुमार सहनीले बताए ।
ज्यान गुमाएका स्वास्थ्यकर्मीकी श्रीमती पनि कोरोनाकै कारण गम्भीर बिरामी परेकी छन् । उनको अहिले सूर्या हेल्थ केयर अस्पताल काठमाडौंमा उपचार भइरहेको अधिकृत सहनीले बताए ।
प्रकाशित समय १६:२० बजे

















