गृहपृष्ठ कर्णालीमा १८ जना कोरोना संक्रमित थपिए, ७६ जना डिस्चार्ज
कर्णालीमा १८ जना कोरोना संक्रमित थपिए, ७६ जना डिस्चार्ज
बिहीबार कर्णाली प्रदेशमा थप १८ जनामा कोरोनाभाइरस (कोभिड- १९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका चार जिल्ला तथा अन्य प्रदेशका बाँके र दाङका १८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १२ जना र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा कोरोना पुष्टि भएकाहरु वीरेन्द्रनगर नगरपालिकाका पाँच, चौकुने गाउँपालिकाका एक, नारायण नगरपालिका दैलेखका एक, नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिका कालिकोटका एक/एक, बाँकेका एक र दाङका दुईजना रहेको महाशाखाका प्रमुख बिर्षबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार जिल्ला अस्पताल दैलेखमा कोरोना पुष्टि हुनेहरुमा डुंगेश्वर गाउँपालिकाका दुई, नारायण नगरपालिका १ का तीन र महाबु गाउँपालिका ६ का एकजना रहेका छन् । योसँगै प्रदेशभर कोरोनाभाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या २ हजार ५ सय ६९ पुगेको महाशाखाको तथ्यांक छ । गत २४ घण्टामा प्रदेशभर ७६ जना कोरोनामुक्त भएसँगै हालसम्म कोरोनामुक्त हुनेहरुको संख्या २ हजार २ सय १ पुगेको छ ।
कर्णालीका विभिन्न जिल्लामा रहेका आइसोलेशनहरुमा कोरोना संक्रमणका सक्रिय बिरामीहरु ३ सय ६१ जना रहेका छन् । जसमध्ये सुर्खेतमा १ सय २४, दैलेखमा ३३, जाजरकोटमा २५, सल्यानमा ४२, रुकुमपश्चिममा २८, जुम्लामा ७५, कालिकोटमा २३ जना रहेका छन् ।
प्रदेशका हुम्ला, मुगु र डोल्पा जिल्लामा भने कोरोनाभाइरसका सक्रिय बिरामी नभएको महाशाखा प्रमुख शाहीले जानकारी दिए । कर्णाली प्रदेशमा हालसम्म ६ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाइसकेका छन् ।
प्रकाशित समय १८:०२ बजे
















