गृहपृष्ठ कोरोनाबाट एकैदिन अहिलेसम्मकै बढी १४ जनाको मृत्यु
कोरोनाबाट एकैदिन अहिलेसम्मकै बढी १४ जनाको मृत्यु
अहिलेसम्म नेपालमा कोरोनाबाट २ सय ७१ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घन्टाभित्र काठमाडौंका ३ महिलासहित देशभर १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा ८२, ६७ र २२ वर्षीया महिला, चितवनमा ३५ वर्षीया महिला, सप्तरीमा ५५ वर्षीय २ पुरुष, धनुषामा ६५ वर्षीय पुरुष र कास्कीमा ३१ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको हो । त्यसैगरी नवलपरासीका ३७ वर्षीय पुरुष, प्यूठानका ५८ वर्षीय पुरुष, रुपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६३ वर्षीय पुरुष र सुर्खेतका ४२ वर्षीय पुरुषको पनि गत २४ घण्टाभित्र कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या पनि अहिलेसम्मकै धेरै थप भएको छ । बिहीबार १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ । देशभर संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रकाशित समय १७:४२ बजे

















