गृहपृष्ठ कर्णालीमा लक्षणसहितका कोरोना संक्रमित न्यून

कर्णालीमा लक्षणसहितका कोरोना संक्रमित न्यून

सबैभन्दा बढी दैलेखमा १ हजार ४८, तीन जिल्ला डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त

कर्णाली प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) का लक्षणसहितका बिरामी न्यून रहेका छन् । भाइरस पुष्टि भएर अस्पतालमा भर्ना हुने बिरामीहरुमध्ये अधिकांश लक्षण नभएका (एसिम्टोम्याटिक) बिरामी धेरै रहेका हुन् ।

प्रदेशभर संक्रमितको संख्या शनिबारसम्म २ हजार ५९८ पुगेको भए पनि गम्भीर प्रकृतिका संक्रमित भने देखिएका छैनन् । प्रदेश अस्पताल सुर्खेतमा हालसम्म ३९८ जना कोरोना भाइरसका संक्रमितहरु भर्ना भए पनि हालसम्म कुनै पनि बिरामीलाई सघन कक्ष (भेन्टिलेटरमा) राख्नु नपरेको अस्पतालका कोरोना फोकल पर्सन डा. प्रदीप न्यौपानेले जानकारी दिए । उनका अनुसार शनिबारसम्म ७५ जना बिरामी भर्ना भएकामध्ये ४ जनालाई मात्र सामान्य टाउको दुखेको भए पनि अन्य बिरामी भने लक्षण नभई सामान्य रहेका छन् ।

‘अहिलेसम्म कुनै पनि बिरामीलाई भेन्टिलेटरमा राख्नुपरेको छैन,’ उनले भने, ‘पहिलो कुरा कोरोना पुष्टि भएकाहरुमा लक्षण हुँदैन । भए पनि सामान्य टाउको दुख्ने र रुघा लागेकोबाहेक अरु लक्षण छैन ।’ प्रदेश अस्पतालमा कोरोना संक्रमितको लागि ८ बेडको भेन्टिलेटर व्यवस्था गरिएको उनले बताए । सुर्खेत जिल्लाभर शनिबारसम्म १२७ जना संक्रमित रहेका छन् । जसमध्ये प्रदेश अस्पतालमा ७५, वीरेन्द्रनगर आइसोलेसनमा २१, होम आइसोलेसनमा १६, वीरेन्द्रनगर होटेल आइसोलेसनमा ४, चिङगाड गाउँपालिका आइसोलेनमा २ र गुर्भाकोट आइसोलेनमा ९ जना संक्रमित रहेका छन् ।

दैलेख जिल्ला अस्पतालमा समेत हालसम्म कुनै पनि कोरोना संक्रमितलाई भेन्टिलेटर तथा आईसीयूमा राख्नु नपरेको अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए । उनले कोरोना संक्रमितका लागि छुट्याइएका २ वटा भेन्टिलेटर र ५ वटा आइसोलेसनमा कुनै पनि बिरामी भर्ना गर्न नपर्नु सुखद् भएको भन्दै एकदुई जना मात्रै सामान्य लक्षणसहितको बिरामी भर्ना भएको बताए ।

दैलेख जिल्ला अस्पतालमा १८, दुल्लु अस्पतालमा ५, भैरवी आइसोलेसन सेन्टरमा २, चामुण्डा बिन्द्राशैनी आइसोलेसनमा ४, ठांटिकाँधमा १ र महाबु आ.शे १ गरी जम्मा ३२ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाको तथ्यांक छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा. मंगल रावलले समेत हालसम्म कुनै पनि कोरोना संक्रमितलाई भेन्टिलेटर तथा आइसोलेसनमा राख्नु नपरेको बताए ।

‘२९ जना अस्पतालमा भर्ना भएका छन्,’ उनले भने, ‘तर, कसैलाई पनि गम्भीर समस्या देखा परेको छैन ।’ उनले पछिल्लो समय प्रतिष्ठानमा लक्षण देखिएको संक्रमित मात्रै भर्ना गर्न सुरु गरेकोसमेत जानकारी दिए । उनका अनुसार २९ जना सबै लक्षण सिहितका बिरामी होइनन् ।

लक्षण नदेखिएका संक्रमितहरुलाई सम्बन्धित स्थानीय तहले आइसोलेसन सेन्टरमा राख्ने गरेको रावलले बताए । उनले लक्षणसहित आएका भनिएका बिरामीहरुमा समेत सामान्य रुघा मात्रै देखिएको बताए । डोल्पा, मुगु र हुम्ला जिल्लामा संक्रमितको संख्या शून्य भएको विषयमा बोल्दै डा. रावलले बाहिरबाट आउने संक्रमितहरु सुर्खेत, जुम्लाका बिभिन्न स्थानमा आइसोलेसनमा बसी संक्रमणमुक्त भई गाउँ पसेको र सम्बन्धित जिल्लाहरुले समेत कडाई गरेको कारण सहज वातावरण बनेको बताए ।

‘अहिले परीक्षणको दायरासमेत घटेको छ,’ उनले भने, ‘तीन जिल्लाहरुमा पातलो बस्ती, लक्षण नदेखिने भएकोले परीक्षण कम हुने गरेको छ ।’ हालसम्म प्रतिष्ठानमा मात्रै भर्ना भएका संक्रमितको संख्या १२० भन्दामाथि रहेको उनले बताए । ‘समुदायमा भर्खरै संक्रमण फैलिन थालेको छ,’ उनले थपे, ‘समुदायमा संक्रमण फैलिएपछि भेन्टिलेटर र आइसीयूमा राख्नुपर्ने बिरामी आउँछन् ।’ रावलले हाल अधिकांश युवाहरुलाई संक्रमण पुष्टि भएको र समुदायमा फैलिएपछि बृद्ध तथा दीर्घ रोगीलाई समेत संक्रमण फैलिने खतरा हुने तर्क गरे ।

जुम्ला जिल्लाभर ८८ जना संक्रमित रहेका छन् । त्यस्तै जाजरकोट जिल्लामा ११, सल्यानमा १५, रुकुमपश्चिममा ९, कालिकोटमा २० जना गरी प्रदेशभर ३०२ जना संक्रमित रहेका छन् । उनीहरुमध्ये कसैलाई पनि भेन्टिलेटरमा राखी उपचार गर्न नपरेको हो । गत जेठ ५ गते दैलेखको आठबिस नगरपालिकाका ३५ वर्षीय युवालाई पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो ।

भारतबाट आएका ती युवालाई समेत एसिम्टोम्याटिक संक्रमण भएको थियो । त्यसो त दैनिक रुपमा कोरोनामुक्त हुने बिरामीहरुको संख्यासमेत बढेको छ । हालसम्म प्रदेशभर २ हजार २८१ जना कोरोनामुक्त भइसकेका छन् । शनिबार मात्रै ४२ जना कोरोनामुक्त भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाको तथ्यांक छ ।

जिल्लागत कोरोना संक्रमण पुष्टि हुनेहरुको तथ्यांक हेर्दा सबैभन्दा बढी दैलेखमा १ हजार ४८, सुर्खेतमा ७१४, सल्यानमा २७३, जुम्लामा १७७, कालिकोटमा ११०, रुकुमपश्चिममा ६३, जाजरकोटमा ५५, मुगुमा १०, हुम्लामा ६ र डोल्पामा ५ जनालाई संक्रमण पुष्टि भइसकेको छ । यद्यपि डोल्पा, मुगु र हुम्ला जिल्लामा हाल कोरोना संक्रमितको संख्या शून्य छ ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ०.२३ प्रतिशत रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । जम्मा संक्रमित २ हजार ५९८ पुग्दा ६ जनाको भाइरसका कारण मृत्यु भएको हो । मृत्यु हुनेहरुमध्ये ५ जनाको भने मृत्युपछि मात्रै कोरोना पुष्टि भएको थियो ।

प्रकाशित समय ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु