गृहपृष्ठ नेपालमै पहिलोपटक घुम्ती स्वाब संकलन बुथ सञ्चालनमा
नेपालमै पहिलोपटक घुम्ती स्वाब संकलन बुथ सञ्चालनमा
सूर्यविनायक नगरपालिकाले पीसीआर परीक्षणका लागि ‘घुम्ती स्वाब संकलन बुथ’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख वासुदेव थापाले सो बुथको उद्घाटन गर्दै नगरपालिकाले अब टोलटोलमा बुथ लगेर स्वाब संकलन गर्न सकिने र यसले नगरवासीलाई निकै सहज हुने बताए ।
भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालमै पहिलोपटक सूर्यविनायक नगरपालिकाले आफ्नै बुथ टोलटोलमा पुर्याएर स्वाब संकलन गर्दा कोरोना संक्रमण समुदायस्तरमा फैलिनबाट जोगाउन सक्ने विश्वास व्यक्त गरे । ‘स्वाब दिन अस्पतालसम्म जाँदा आउँदा संक्रमण फैलिन सक्ने जोखिम अब यसले अन्त्य गरेको छ, नगरपालिकाको यो अभियानले टोलटोलमै गएर स्बाव संकलन गर्दा सुरक्षित पनि हुने र समुदायमा संक्रमण फैलिनबाट पनि रोक्न सक्छ, अरु स्थानीय तहले पनि यो प्रविधि अपनाउनु उपयुक्त हुन्छ,’ उनले भने ।
नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिमयुक्त वडा र टोलको पहिचान गरी आफ्नै स्वास्थ्यकर्मीको टोलीमार्फत् कन्ट्याक्ट ट्रेसिङ गर्दै टोलटोलमा स्वाब संकलन अभियान सुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । उनले भने, ‘कोभिड- १९ को संक्रमणलाई समुदायस्तरमा फैलिनबाट रोक्न कसरी जान सकिन्छ भन्नेबारेमा छलफल गर्याैं, स्वाब संकलन बुथ बनाएर टोलटोलमा जान सकिने निष्कर्ष निस्किएपछि कर्नेल शिवप्रसाद पौडेल र मैले खाका बनायाैं, यसले छिटो र छरितो रुपमा स्वाब संकलनमा निकै सहजता ल्याउँछ ।’

नगरपालिकाले ट्रक र सामग्री उपलब्ध गराएपछि नेपाली सेनाको वीर दल गण सूर्यविनायकको प्राविधिक एवं जनशक्ति सहितको सहकार्यमा तीन दिनमा बुथ तयार पारेको वीर दल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए ।
नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले बुथबाट पहिलो दिन १, २, ३, ६, ८, ९ र १० वडाका ९६ जनाको स्वाब संकलन गरेको जानकारी दिए । स्वाब संकलनका लागि नगरपालिकाबाट सम्बन्धित वडाका वडाध्यक्षको नेतृत्वमा उपप्रमुख जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली, सामाजिक विकास शाखाका संयोजक थापा, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईं सहितको ६ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिने छन् । नगरपालिकाले अहिलेसम्म कन्ट्याक्ट ट्रेसिङबाट ५ सय ६६ जनाको स्वाब संकलन गरेको छ ।

प्रकाशित समय १५:३४ बजे
















