गृहपृष्ठ टाउको दुखाइ रोग होइन, लक्षण हो
टाउको दुखाइ रोग होइन, लक्षण हो
टाउको दुख्नु मानिसले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा महसुस गरिरहने एउटा समस्या हो । यो कुनै रोग होइन, अरु रोगको लक्षणचाहिँ हो । सामान्य रोगका कारण पनि टाउको दुख्न सक्छ भने कतिपय टाउको दुखाइका कारण जटिल हुन्छन् । पिनास, क्लस्टर ह्याड्याक, टेन्सन ह्याड्याक, माइग्रेन आदि टाउको दुखाइका कारण हुन् । पहिला यी कारणहरूबारे बुझौँ ।
पिनास
टाउको दुखाइको एउटा प्रमुख कारण पिनास हो । पिनासलाई मेडिकल्ली साइनोसाइटिस भनिन्छ । पिनासका कारण टाउको दुख्दा आँखाको डिल अर्थात् आँखीभौँ भएको भाग तथा गालाको डिल र नाकको बीचको भाग बढी दुख्छ । पिनासका कारण टाउको दुख्दा नाक बन्द हुने, गन्ध कममात्र थाहा पाउने, हाच्छ्युँ आइरहने र गन्हाउने खालको सिँगान आउने जस्ता समस्या हुन्छन् ।
क्लस्टर ह्याड्याक
क्लटर ह्याड्याकको समस्या हुँदा पनि टाउको दुख्छ । माइग्रेन र क्लस्टर ह्याड्याक आममानिसका लागि करिब उस्तै लाग्छन् । क्लस्टर ह्याड्याक हुँदा आँखाको वरिपरि र आइबलमा बेस्सरी दुख्छ । टाउको दुखेका बेला आँसु आइरहने हुन्छ । यसमा टाउको लामो समय दुख्दैन । दुई–चार घण्टा दुखेर ठिक हुन्छ र दैनिकजसो दुखिरहन सक्छ ।
टेन्सन ह्याड्याक
टाउको दुखाइको अर्को कारण टेन्सक ह्याड्याक पनि हो । टेन्सन ह्याड्याकका कारण टाउको दुख्दा टाउकाको पुरै भाग दुख्छ । पछाडिको भाग तानेजस्तो हुन्छ । यसलाई स्ट्रेस ह्याड्याक पनि भन्ने गरिन्छ ।
माइग्रेन
टाउको दुख्नुको अर्को कारण माइग्रेन हो । धेरै मानिस टाउको दुख्नेबित्तिकै ‘माइग्रेन भयो’ भन्ने गर्छन् । तर, त्यसो होइन । माइग्रेनका कारण पनि टाउको दुख्छ तर सबै टाउको दुखाइ माइग्रेन होइन । माइग्रेनको टाउको दुखाइलाई अर्धकपाल दुखाइ (युनिल्याटरल ह्याडयाक) पनि भनिन्छ । कतिपयले यसलाई ‘अधा’ भनेर पनि बुझ्ने गर्छन् । माइग्रेनका कारण टाउको दुख्दा टाउकाको दायाँ या बाँया भाग या कुनै सानो भागमात्र दुख्छ ।
माइग्रेन केही, दिन केही हप्ता या केही महिनाको फरकमा दुख्छ, केही घण्टा या केही दिनसम्म दुखाइ रहन्छ र आफैं ठिक भएर जान्छ । फेरि केही दिनपछि त्यस्तै हुन्छ । माइग्रेनमा कसैलाई चर्को लाइट या चर्को घाम, कसैलाई कुनै गन्ध, कसैलाई कुनै रंग, कसैलाई भीडभाड र कसैलाई ठूलो भोल्युमले टाउको दुखाइ सुरु भइहाल्छ । माइग्रेनको टाउको दुखाइका बेला गर्धनको पछाडिको भाग धेरै टाइट भएको हुन्छ । यसलाई माइग्रेनका बिरामीले आफैं पनि महसुस गर्न सक्छन् ।
माइग्रेनको हालसम्म कुनै कारण पत्ता लागेको छैन । माइग्रेनको समस्या १५ वर्षदेखि ५० वर्षका महिलामा बढी देखिएको छ । हालसम्मको अध्ययनअनुसार कुल माइग्रेनका बिरामीमध्ये ७० प्रतिशतभन्दा धेरै महिला र ३० प्रतिशतभन्दा कम पुरुष छन् । यसको अर्थ, माइग्रेन धेरैजसो महिलालाई हुने गर्छ ।
टाउको दुख्ने अरु कारण पनि हुनसक्छन् । आँखाको पावरमा गढबढी भयो, आँखाको प्रेसर तलमाथि भयो भने पनि टाउको दुख्न सक्छ । कानमा समस्या भयो अथवा कानमा इन्फेक्सन भयो, दाँतमा समस्या भयो भने पनि टाउको दुख्न सक्छ । कहिलेकाहीँ गर्धनको हड्डी खिइएर पनि टाउको दुख्न सक्छ ।
जटिल किसिमको रोगका कारण पनि टाउको दुखाइ हुनसक्छ । ब्रेनमा इन्फेन्सन भयो, ब्रेनमा कुनै ट्युमर पलायो, सिस्ट पलायो भने पनि टाउको दुख्न सक्छ । यसकारण सामान्यदेखि जटिल रोगमा पनि टाउको दुख्ने भएकाले यसलाई सामान्य हिसाबले लिने र जथाभावी औषधि सेवन गर्ने, औषधी पसलबाट जुन मन लाग्यो त्यो औषधि किनेर खाइहाल्ने, हल्का टाउको दुखेजस्तो भयो भने पनि ‘पेनकिलर’ खाइहाल्ने गर्नु हुँदैन ।
सबैभन्दा पहिला टाउको के कारणले दुखेको हो पत्ता लगाउनुपर्छ । टाउको केही दिनदेखि लगातार जसो दुख्न थाल्यो भने सबैभन्दा पहिले फिजिसियन, अकुपन्चरिस्ट या नेचुरल थेरापिस्टकहाँ गएर टाउको दुखाइको खास कारण पत्ता लगाउनुपर्छ । त्यसका लागि केही परीक्षण पनि गर्न आवश्यक हुन्छ । एक्स–रे, सिटिस्क्यान, एमआरआई, ईईजीलगायत पद्धतिबाट पहिला टाउको दुखाइको कारण पत्ता लगाइन्छ ।
टाउको दुखाइमा अकुपन्चर
अकुपन्चर भनेको शरीरका विशेष विन्दुमा विशेष प्रकारका फिलिफम निडिल (सियो)ले घोचेर गरिने उपचार पद्धति हो । यो चिनियाँ परम्परागत उपचार (टीसीएम) को एउटा विधा हो । मानिसका शरीरमा ३६१ वटा रेगुलर बिन्दु हुन्छन् भने अन्य केही विन्दु पनि हुन्छन् । पिनास, क्लस्टर ह्याड्याक, टेन्सन ह्याड्याक, माइग्रेनलगायतका बिरामीलाई शरीरका ती विन्दुहरूको खास अवस्थिति पत्ता लगाएर निडिलले घोचेर उपचार गरिन्छ ।
अकुपन्चर साइन्सको भाषामा शरीरमा दुईवटा फोर्स हुन्छ- नेगेटिभ र पोजेटिभ । टीसीएमको भाषामा यसलाई यिङ र याङ भनिन्छ । यही यिङ र याङको सन्तुलन बिग्रियो भने रोग लाग्छ । उदाहरणका लागि माइग्रेन हुँदा ब्रेनभित्र र बाहिरको रगतको आपूर्तिमा असन्तुलन भएको हुन्छ र त्यसलाई सन्तुलनमा ल्याउने काम अकुपन्चरले गर्छ ।
अकुपन्चरले खासमा एन्टी एनाल्जेसिक अथवा दुखाइ कम गर्ने काम गर्छ । शरीरबाट नेचुरल पेनकिलर निकाल्छ, जसलाई हामी एनाल्जेसिक इफेक्ट अफ अकुपन्चर भन्छौँ । उदाहरणका लागि हामीलाई कतै ठोक्कियो भने केहीबेर मज्जाले दुख्छ र आफैँ ठिक हुन्छ । कसरी भने ठोक्किएपछि हाम्रो ब्रेनले आफैँ इन्डोरफिन, मर्फिनलगायतका नेचुरल पेनकिलर रिलिज गर्न आदेश दिन्छ । त्यसैगरी, अकुपन्चरका प्वाइन्टहरुमा स्टिमुलेट गरिसकेपछि नेचुरल पेनकिलर निकाल्न ब्रेनले नै निर्देश गर्छ र सम्बन्धित अंगबाट नेचुरल पेनकिलर निस्कन्छ । यो ‘बडी हिल्स इट्सेल्फ’ अथवा ‘शरीर आफ्नो उपचार आफैँ गर्न सक्षम हुन्छ’ भन्ने अवधारणा हो । यसकारण टाउको दुखाइमा अकुपन्चर अत्यन्तै प्रभावकारी र साइड इफेक्टलेस उपचार पद्धति हो ।
(सुस्वास्थ अस्पतालका अध्यक्ष बस्नेत प्रमुख अकुपन्चरिस्ट हुन् ।)
यो पनि पढ्नुहोस्
जीवन समृद्ध बनाउन जागिरे होइन, उद्यमी बन्नुपर्छ
प्रकाशित समय १५:५६ बजे


















